• ३२ असार २०८२, बुधबार

रामधुनी मन्दिर जाने सडक कालोपत्रे गरिँदै

blog

रामधुनी मन्दिर जाने सडक कालोपत्रे गरिँदै । तस्विरः बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, असार ३२ गते । रामधुनी मन्दिर जाने सड्क जीर्ण बन्दै गएपछि सडक पुनः कालोपत्रे गर्न थालिएको छ । रामको पाउ स्पर्श भएको मन्दिर क्षेत्रमा जाने सडक बिग्रिएपछि सडक कालोपत्रे गर्न थालिएको रामधुनी नगरपालिकाले जनाएको छ । 

सङ्घीय सडक बोर्डबाट विनयोजन भएको रकमबाट रामधुनी नगरपालिकाले ठेक्का खुलाएर सडकको काम सुरु गरिएको हो । सडक बोर्डको बजेटमार्फत भगवान रामको पाउ स्पर्श भएको सुनसरीको रामधुनी मन्दिर पुग्न बिग्रिएको ६६० मिटर सडकमा कालोपत्रे थालिएको छ । 

पाँच मिटर चाैडाइ भएको सडकको ४ दशमलब ५ मिटर कालोपत्रे हुने रामधुनी वडा ४ का वडा अध्यक्ष कमल कार्कीले बताउनुभयो । उहाँका अनुसार ४९ लाख ६२ हजार ४५१ रुपियाँमा सडक बनाउन टेण्डर पारेर श्रेष्ठ निर्माण कम्पनी रामधुनी –६ ले काम सुरु गरेको छ । 

झुम्का बजारबाट सात किलोमिटरको दूरीमा पुग्न सकिने रामधुनी मन्दिरमा सडक खाल्टाखुल्टी हुँदा बर्खासँगै तीर्थ यात्रीहरु र स्थानीयवासीहरुले उक्त सडक भएर हिंडडुल गर्न सास्ती भोग्दै आउनुपरेको थियो । 

राजावास, प्रकाशपुर, सालवनी र इक्राहीका स्थानीयलाई पूर्वपश्चिम राजमार्गको झुम्कासँग जोड्ने सडक मर्मत नहुँदा तीर्थयात्री र स्थानीयले समस्या भोग्दै आएको स्थानीय दानबहादुर खत्री बताउनुहुन्छ । 

रामधुनी नगरपालिका –४ को रामधुनी जङ्गलमा अवस्थित रामधुनी मन्दिरमा हिन्दु धर्मावलम्बीले श्रद्धापूर्वक भगवान रामले बालेको धुनीको दर्शन गर्न र बिगुत लगाउन तीर्थालुहरु रामधुनी मन्दिर आउने गरेको रामधुनी गुठी व्यवस्थापन समितिले जनाएको छ । 

हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने रामनवमी पर्वमा मर्यादा पुरुषाेत्तम भगवान रामचन्द्रको स्मरण गरेर मनाइने गरिन्छ । रामको जन्म त्रेतायुगमा आजकै दिन अयोध्यामा भएको पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार हिन्दु धर्मावलम्बीले रामनवमीलाई विशेष दिनका रुपमा मनाउने गरेको रामधुनी गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताउनुभयो । 

रामको चरण परेको भूमि र हालसम्म पनि बलेको अखण्ड धुनी भगवान रामले बालेको धार्मिक विश्वास रहिआएकोले रामधुनी मन्दिरको छुट्टै विशेषता र महत्व छ । चौतर्फी जङ्गको बिचमा मन्दिर रहेकाले धार्मिक आस्था बोकेर देश विदेशबाट भक्तजनहरु दर्शनका लागि आउने गरेका छन् । 

भगवान श्री रामचन्द्र त्रेतायुगमा वनवासको क्रममा तपोवनको पुण्यस्थलमा धुनी लगाएर एक रात बास बसेको र एक जोर आफ्ना पाउका खराउ बास बसेकै ठाउँमा छाडिगएको पौराणिक कथनसमेत रहेको मन्दिरका महन्त काशीदास उदासीको भनाइ छ ।   

धुनी मन्दिरमा पूजा, आराधना गर्नाले र धुनीबाट निक्लिएको बिगुत लगाएमा चिताएको पुग्ने जनविश्वास छ । रामनवमी विवाहपञ्चमी, ऋषिपञ्चमी, शिवरात्री, तीज आदिजस्ता पर्वमा नेपालका विभिन्न स्थान र भारतबाट समेत श्रद्धालु भक्तजनको मन्दिरमा घुइँचो लाग्नेगरेको छ ।