• ३२ असार २०८२, बुधबार

तरकारी जोन अन्तर्गत सय टनेल

blog

मल्लरानी गाउँपालिका –३ खाइनडाँडामा निर्माण गरिएको टनेलमा हुर्कंदै गरेका टमाटरका बेर्ना । तस्विरः सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, असार ३२ गते । मल्लरानी गाउँपालिका –५ सरङकोटका मुकुन्द मल्लले आफ्नो बारीमा तरकारी खेतीका लागि प्लास्टिक टनेल बनाउनुभएको छ । साथमा मल्चिङ र थापो सिँचाइ प्रविधि पनि जडान गर्नुभएको छ । 

विशेषगरी टमाटर उत्पादन गर्ने उद्देश्यले मल्लले परम्परागत रुपमा गर्दैआएको कृषिलाई परिवर्तन गरी मल्चिङ, थोपा सिँचाइसहितको प्लास्टिक टनेल निर्माण गर्नुभएको हो ।

“टमाटर र तरकारी फलाउने उद्देश्यले टनेल बनाएको हो” उहाँले भन्नुभयो, “व्यावसायिक रुपमा कृषि खेतीलाई अघि बढाउने उद्देश्यले लागिरहेको छु ।” मल्ल सरङकोटको उत्कृष्ट किसानको रुपमा चिनिनुहुन्छ । गाउँमा अहिले मल्लको सिको गर्दै अरु किसान पनि कृषिलाई प्रविधिसँग जोड्दै तरकारी खेती गर्न थालेका छन् ।

च्याउ उत्पादन, मौसमी तथा बेमौसमी तरकारी खेतीमा यहाँका किसानहरु सक्रिए भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ प्युठानले सञ्चालन गरेको तरकारी जोन अन्तर्गत मल्लरानी गाउँपालिका –३ खाइनडाँडा र ५ नम्बर वडाको सरङकोटमा यस वर्ष एकसय टनेल निर्माण गरिएको छ । 

निर्माण गरिएको टनेलमा किसानले तरकारीको बेर्ना लगाउन थालेका छन् । टनेलसँगै पानी सङ्कलन गर्न पोखरी समेत निर्माण गरिएको छ । टनेल निर्माण भएपछि किसानहरु हौसिएका छन् । तरकारी खेतीकै लागि स्थानीय सरकार मल्लरानी गाउँपालिकाले बीउ, विषादी लगायतमा सहयोग गरेको मल्लले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्युठानका प्रमुख चुमानसिंह गिरीले विगत ३ वर्षदेखि कार्यालयले नयाँ प्रविधिमा जोड दिँदै तरकारी जोनमा काम गर्दैआएको बताउनुभयो । 

उहाँले थोपा सिँचाइ, मल्चिङ प्रविधि, टनेल खेतीतर्फ किसानलाई उत्प्रेरित गर्दै लगेको बताउनुभयो । उहाँले यस वर्ष कार्यालय र स्थानीयका लागि साझेदारीमा एकसय वटा टनेल निर्माण भएको बताउनुभयो ।

मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्काले किसानले उत्पादन गरेका उपजलाई पालिकाले बजारीकरण गर्ने जिम्मा लिने बताउनुभयो । उहाँले किसानलाई उत्पादनको आधारमा थप अनुदान दिने गरेको बताउनुभयो ।