• ३१ असार २०८२, मङ्गलबार

बिमा प्राधिकरणको जिम्मेवारी सहसचिव पोखरेललाई

blog

नेपाल बिमा प्राधिकरणको जिम्मेवारी पाएपछि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट बधाई ग्रहण गर्नुहुँदै अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल ।

काठमाडौँ, असार ३१  गते। नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि उक्त जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आज पोखरेलले पद तथा गोपनियताको शपथ लिनुभएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो।

नेपाल बिमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बिमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बन हुनुभएको थियो।

यसैबीच, छानबिन समितका अध्यक्ष गिरी, सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले आज पत्र बुझ्नु भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।