• ७ वैशाख २०८१, शुक्रबार

एसपीपीको पत्र अचानक बाहिर आयो : अध्यक्ष नेपाल

blog

काठमाडौं, असार ५ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको पत्र अचानक बाहिर आएको बताउनुभएको छ। काठमाडौंमा आइतबार सम्पादकसँगको अन्तरक्रियात्मक कार्यक्रममा उहाँले एसपीपी सम्झौताबारे यसअघि थाहा नभएको बताउनुभयो। 

 “२७ अक्टुबर, २०१५ को पत्र अचानक बाहिर आयो। त्यो भन्दा पहिला धेरैलाई थाहा थिएन। तात्कालीन प्रधानमन्त्रीले त थाहै नदिई पत्र पठाइयो भन्नुभएको छ। त्यो कति सत्य हो ?”, अध्यक्ष नेपालले भन्नुभयो।

कार्यक्रममा उठेका जिज्ञासाबारे बोल्नुहुँदै उहाँले राष्ट्रघात हुने कुनै पनि अनुचित सम्झौता नहोस् भनेर गठबन्धनको छलफल र सरकारलाई भन्ने गरेको उहाँले बताउनुभयो। 

“जनजीविकाको सवालका विषयमा छलफल हुनुपर्छ भनेर गठबन्धनको बैठकमा कुरा उठाउने गरेको छु। निजगढ विमानस्थल होस् या देशको आर्थिक नीति सबै कुराको सन्दर्भमा एमाले हुँदा पनि पार्टीका नेताबीच यो कुरा उठाउँथे”, उहाँले भन्नुभयो। 

निर्वाचन र मतपरिणामको समीक्षा गर्नुहुँदै चुनावमा पहिलो पटक भाग लिएको एकीकृत समाजवादीको विगतको चुनावको मूल्यांकन गरेर अघि बढ्न सक्ने स्थिति नभएको प्रष्ट्याउनुभयो। “विगतका चुनावको शक्तिबाट आंकलन गर्न सक्ने अवस्था थिएन। अरु सबै पार्टीले विगतमा भाग लिइसकेको अवस्था थियो। चुनावमा दृढतापूर्वक उभिएका जनप्रतिनिधिको हकमा सहमतिका उम्मेदवार सहमतिका साथ अगाडि सार्ने काममा सहयोग भएन”, उहाँले बताउनुभयो।

वाम एकताप्रति जहिले पनि सकारात्मक भएको भन्नुहुँदै उहाँले विचार मिलेको अवस्थामा हातेमालो गर्दै जान तयार रहेको बताउनुभयो। “तर, वामै, वाम छन्, विचार मिलाएर जानसक्ने अवस्थामा को–को छन् ? हातेमालो गर्दै जान तयार छौं”, उहाँले थप्नुभयो।

थप जिज्ञासाको जवाफ दिनुहुँदै उहाँले मन्त्रीहरुको काम सन्तुष्ट वा असन्तुष्ट भन्न सक्ने अवस्था भन्दा पनि त्यसको समीक्षा हुनुपर्ने बताउनुभयो। विगतमा मन्त्रीलाई ६ महिनाको अवधि दिइएको र अब छिट्टै मन्त्री फेर्ने कुरा प्रधानमन्त्रीसँग भइरहेको उहाँले बताउनुभयो।

स्थानीय निर्वाचन पश्चात् आगामी प्रादेशिक र संसदीय निर्वाचनका लागि जुट्नुपर्ने धारणा उहाँको छ। स्थानीय तहको निर्वाचनमा भएको गठबन्धनमा अपेक्षित भूमिका निर्वाह हुन नसकेकोप्रति उहाँले ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ। 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।