• २८ असार २०८२, शनिबार

हेटौँडा उपमहानगरको आगामी आवको बजेट पारित

blog

हेटौँडा उपमहानगरपालिका कार्यालय ।

राममणि दाहाल
मकवानपुर, असार २८ गते ।
हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट नगर सभाको अधिवेशनबाट पारित भएको छ । शुक्रबार बसेको अधिवशेनले आगामी दुई अर्ब ९० लाख तीन हजार रुपियाँ बराबरको बजेट पारित गरेको हो ।

असार १० गते बसेको उपमहानगरपालिकाको नगरसभाको १७ औँ अधिवेशनमा उपप्रमुख राजेश बानियाँले चालु आर्थिक वर्षको बजेटभन्दा वृद्धि गर्दै बजेट प्रस्तुत गर्नुभएको थियो । उपमहानगरको चालु आवको बजेट दुई अर्ब ४३ करोड ८० लाख रुपियाँ रहेको छ । 
हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले अधिवेशनले आर्थिक विधेयक र विनियोजन विद्योग पारित गरेको जानकारी दिनुभयो ।

आगामी आवको बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपियाँ, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख ५५ हजार रुपियाँ र बाँकी संघ र प्रदेशबाट अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

नगर विकास कोषको ऋणबाट तीन करोड ६० लाख रुपियाँ स्रोत व्यवस्थापन गर्ने बजेटमा व्यवस्था गरिएको छ । आगामी आवका लागि कार्य सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनका लागि ५९ करोड ६५ लाख ९० हजार र सुशासन तथा संस्थागत विकासतर्फ तीन करोड ८९ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

प्रवक्ता न्यौपानले बजेट पारित भएसँगै आगामी साउन १ गतेबाट उपमहानगरलाई खर्च गर्ने बाटो खुलेको छ । आगामी आवमा अटो भिलेज पूर्वाधार निर्माण हेटौँडा–११, वाटर फन पार्क हेटौँडा–१४, गंगा आरती स्थल हेटौँडा– १० का लागि बजेट व्यवस्थासहित बजेट पारित भएको छ ।

यस्तै उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका योजनालाई व्यवस्थित गर्न आयोजना बैंक कार्यान्वयनमा ल्याउनेभएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ बाट आयोजना बैंक कार्यान्वयनमा ल्याइने भएको छ ।

नगरप्रमुख मीनाकुमारी लामाले योजना तर्जुमा प्रणालीलाई व्यवस्थित गर्न आयोजना बैंकको व्यवस्थापन सूचना प्रणाली निर्माण गरिने बताउनुभयो ।

आगामी आवमा हेटौँडा १४ मा सार्वजनिक निजी साझेदारीको अवधारणमा सुविधा सम्पन्न फन पार्क निर्माण गर्ने, किसान सूचीकरणको कार्य आगामी आवमा सम्पन्न गर्ने, किसान वर्गीकरण र किसान परिचयपत्र वितरण गरिने भएको छ ।

युवा लक्षित कृषि कार्यक्रम सञ्चालन, प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहित गर्ने र एक वडा, एक कृषि उत्पादन कार्यक्रममा १३ मा मेवाखेती र वडा नं. १ कोदो खेती कार्यक्रमलाई निरन्तरता आगामी आवमा पनि निरन्तरता दिइनेभएको छ ।