• २८ असार २०८२, शनिबार

बेलौरीमा महँगोमा मल वितरण, कृषक चिन्तित

blog

सुनगाभा कृषि सहकारीबाट मल लैजाँदै कृषकहरू । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, असार २७ गते ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा मल वितरण सुरु गरिएको छ । यस वर्ष ढिलो गरी मल उपलब्ध हुँदा शुक्रबारदेखि खाद वितरण सुरु गरिएको कृषि सहकारीहरूले बताएका छन् ।

एकातिर समयमै मल खाद नपाउँदा चिन्तित बनेका कृषकहरू पालिकाले तोकेको दररेटभन्दा महँगोमा मल खरिद गर्नुपरेको बताएका छन् । बेलौरी नगरपालिका–९ मा सुनगाभा कृषि सहकारीले पालिकाले तोकेको भन्दा प्रतिबोरामा २५ रुपियाँ बढाएर मल बिक्री गरिरहेको भन्दै कृषकहरूले गुनासो गरेका छन् । बेलोरी नगरपालिका –१० मा कार्यालय रहेको उक्त सहकारीले वडा नम्बर ९ मा पनि मल वितरणका लागि पालिकाबाट ४३५ बोरा खाद माग गरेको थियो ।

बेलौरी नगरपालिका–९ का कृषक सरिताकुमारी सुनारले पालिकाले तोकेको भन्दा बढी मूल्य तिरेर एक बोरा मल पाएको बताउनुभयो । नगरपालिकाले प्रति बोरा एक हजार एक सय ५ रुपियाँ तोकेको भए पनि केही कृषि सहकारीहरूले भने मूल्य बढाएर मल बिक्री गरिरहेको कृषकहरूले गुनासो गरेका छन् ।  

वडा नम्बर ९ का कृषक हरिस ओझाले एक बिघा जमिनका लागि तीन बोरा मल आवश्यक पर्ने भए पनि यस वर्ष मल अभाव हुँदा खेतमा मल हाल्न नपाएको गुनासो गर्नुभयो । कृषकहरूले मल नपाएको भन्दै विगत एक महिनादेखि सरकारसँग आवश्यक मात्रामा मल उपलब्ध गराउन माग गर्दै आएका छन् ।  

बेलौरी नगरपालिकामा यस वर्ष १६ कृषि सहकारीमार्फत कृषकहरूलाई अनुदानमा मल वितरण सुरु गरिएको हो । पालिकामा झन्डै चार हजार चार सय बोरा मलको माग भएकोमा हाल दुई हजार दुई सय बोरा मल उपलब्ध रहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । समयमै मल नपाउँदा यस वर्ष उत्पादन घट्ने भन्दै कृषकहरू चिन्तित बनेका छन् ।