विनय कर्ण
कल्याणपुर (सप्तरी), असार २७ गते । सप्तरीको सुरुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गत असार ९ मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट १५ औं नगरसभाको दोस्रो बैठकबाट सर्वसम्मतले पारित गरेको हो ।
आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, वार्षिक बजेट, योजना तथा कार्यक्रम र न्यायिक समितिको यस आर्थिक वर्षको वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा बिहीबार पारित भएको नगर प्रमुख गीता चौधरीले जानकारी दिनुभयो ।
नगरपालिकाको नगरसभा सञ्चालन कार्यविधि २०७४ अनुसार प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि बृहत छलफल भइ सर्वसम्मतले पारित भएको उहाँले बताउनुभयो ।
नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि एक अर्ब ४४ लाख ९६ हजारको बजेट ल्याएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।
“पारित भएको बजेटमा भौतिक निर्माणका अधुरो योजनालाई पूरा गर्ने र सोलारबाट विद्युत उत्पादन गरी वैकल्पिक उर्जाको विकास गर्ने कामलाई प्राथमिकता दिइएको छ । नगरप्रमुख चौधरीले भन्नुभयो ।
नगरपालिकाले यस आर्थिक वर्षमा विनियोजित बजेटको ७८ दश्मलव ४७ प्रतिशत बजेट खर्च भएको विवरण यस अघि नै सार्वजनिक गरिसकेको छ ।
सुरुङ्गा नगरपालिकाले आयोजना गरेको १५ औं नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख रुद्रबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्र, नगर प्रवक्ता शिव दर्शन पासमान, वडा नम्बर १ देखि ११ सम्मका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु सहितको सहभागिता थियो ।