• २८ असार २०८२, शनिबार

नाउपा सरकारमा फर्किने सत्तापक्षको विश्वास

blog

धनगढी समाचारदाता

धनगढी, असार २७ गते । सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी पुनः मन्त्रीपरिषद्मा फर्किने सत्तापक्षले विश्वास लिएको छ ।  

दुवै पक्षका शीर्ष नेतृत्वबिच भेटघाट छलफल भइरहेकाले सो पार्टी पुनः सरकारमा फर्किने सत्तापक्षका नेताले दाबी गर्नुभएको छ । नागरिक उन्मुक्तिका तर्फबाट मन्त्रीपरिषद्मा सहभागी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई गतसाता मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट बर्खास्त गर्नुभएको थियो । 

आफ्नो पार्टीको मन्त्री बर्खास्तीमा परेपछि नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेश सरकारको साथ छोडेको छ । यो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले झन्डै दुई तिहाइ बहुमतको साथ गुमाउनुभएको छ भने नागरिक उन्मुक्ति पार्टी विपक्षी कित्तामा पुगेको छ । यद्यपि, मुख्यमन्त्रीसँग अझै स्पष्ट बहुमत रहेको छ । 

सुदूरपश्चिम प्रदेश सभामा बहुमत पुर्‍याउन २७ जनाको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री शाहसँग नेपाली कांग्रेसका १८ र नेकपा (एमाले) का ११ गरी २९ जना प्रदेश सभा सदस्यको साथ छ । यसअघि उहाँलाई ३६ जना प्रदेश सभा सदस्यको साथ रहेको थियो । 

काम गर्न असहज भएको भन्दै मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई हटाउनुभएको थियो । मन्त्रीलाई हटाउँदा नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिइसकेपछि मुख्यमन्त्रीको दौडधुप भेटघाट बढेको छ । नागरिक उन्मुक्ति पार्टी बाहिरिएपछि उहाँले गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर घटनाक्रम सुनाउनुभएको थियो । त्यसलगत्तै मुख्यमन्त्रीले आइतबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई बर्दियामा भेट्नुभएको थियो ।  

आफ्नो पक्षमा बहुमत हुँदाहुँदै उहाँ नागरिक उन्मुक्ति पार्टी पुनः फर्किने पर्खाईमा हुनुहुन्छ । “नागरिक उन्मुक्तिका संरक्षक (रेशम चौधरी) ज्यूले सम्माननीय प्रधानमन्त्री र हाम्रो पार्टीका आदरणीय सभापति ज्यूलाई भेटघाट गरी सक्नुभएको छ,” कञ्चनपुरको पुनर्वासमा मुख्यमन्त्री शाहले भन्नुभयो, “भेटमा सरकारमा फर्किनेबारे कुरा भएका छन् । नागरिक उन्मुक्ति पार्टीका साथीहरू मन्त्रीपरिषद्मा आउनुहुन्छ भन्ने मलाई विश्वास छ ।”

यो प्रदेशमा कांग्रेस र एमाले मिलेर गठबन्धन सरकार बनाई अरू पार्टीलाई सरकारमा सहभागी गराएको मुख्यमन्त्रीको भनाइ थियो । 

काम गर्न असजिलो भएपछि सरकारले व्यक्तिलाई हटाउँदा सिङ्गो पार्टीले सरकारै छोड्नुपर्ने कारण नरहेको सत्तापक्षको जिकिर छ । सरकारबाट हट्ने निर्णयलाई एक दिन नागरिक उन्मुक्ति पार्टीले पुनर्विचार गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले बताउनुभयो । 

“आफ्नो मान्छेमाथि कारबाही भएपछि केही दिन रिस मान्नू स्वाभाविक हो,”  उहाँले भन्नुभयो, “तर व्यक्तिलाई सरकारबाट हटाउँदा पार्टी नै सति जानु पर्छ भन्ने लाग्दैन । उहाँहरूले निर्णय फिर्ता लिनुहुन्छ ।”

प्रदेश सभामा चौथो ठुलो दल नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य छन् । सभामा निर्णायक यो दललाई कुनै बेला मुख्यमन्त्री शाहले मुख्यमन्त्री बनाउनेसम्मको ‘अफर’ दिनुभएको थियो । अहिले उहाँले नै सो पार्टीलाई विपक्षीको बेन्चमा पु¥याइ दिनुभएको छ । आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले अब त्यसबाट पछाडि नहट्ने नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले बताउनुभयो ।