गुणबहादुर रोका
सुलीकोट, असार २७ गते । उत्तरी गोरखामा भिरबाट लडेर एक जना युवाको मृत्यु भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका – ३ सिर्दीबास बस्ने ३० वर्षीय थरपुन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार असार २४ गते बिहान ११ बजे चुमनुब्री गाउँपालिका– ४ नामरुङबाट घर जान्छु भनेर हिँडेकोमा घर नपुगेपछि आफन्तले इलाका प्रहरी कार्यालय लार्केमा खोजतलासका लागि निवेदन दिएका थिए । त्यसपछि पहरी र स्थानीयले संयुक्त रुपमा खोजी बिहीबार बेलुका ७ बजे गुरुङ मृत अवस्थामा फेला गरेको उहाँले बताउनुभयो ।
चुमनुब्री गाउँपालिकाको लार्केस्थित मनास्लु पदमार्गको गोरेटोबाटोबाट झण्डै तीन सय मिटर तल भिरमा गुरुङको शव अड्किको अवस्थामा फेला परेको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।