• २८ असार २०८२, शनिबार

पश्चिम नवलपरासीमा १४ शिक्षक सम्मानित

blog

सम्मानित शिक्षकहरु । तस्बिर : पुरुषोत्तम सुबेदी

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, आसार २७ गते ।
पश्चिम नवलपरासीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउन महत्त्वपूर्ण योगदान दिने १४ जना जना शिक्षकहरूलाई  सम्मान गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइले  विषयगत आधारमा सामुदायिक विद्यालयका आठ जना र संस्थागत विद्यालयका ६ जना उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुवेदीका अनुसार, अनिवार्य विषयमा सबैभन्दा बढी औसत सिकाइ उपलब्धि हासिल गर्न सफल भएका आधारमा सामुदायिक विद्यालयका आठ जना र संस्थागत विद्यालयका छ जना उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको छ ।

सामुदायिक विद्यालयबाट सम्मानित हुने शिक्षकहरूमास् कृष्ण प्रसाद अधिकारी, कामना गैरे, धुव्रराज घिमिरे,  तुलसी कुँवर, सभ्यता प्रसाई, दुर्गा प्रसाद उपाध्याय, सदन पौडेल र राम राज श्रेष्ठ रहेका छन्  ।

यसैगरी, संस्थागत विद्यालयबाट दोसल्ला र सम्मान पत्रसहित सम्मानित शिक्षकहरूमास्, दिनानाथ पौडेल, दुर्गा प्रसाद पंगेनी, मोहन शरण पाण्डेय, देवेन्द्र हिताङ्ग, चिरञ्जिवी न्यौपाने र रामबहादुर कार्की रहेका छन् । संस्थागत विद्यालयतर्फ सम्मानित सबै विषयगत शिक्षकहरू न्यू लाईफ बोर्डिङ्ग बर्दघाटका हुन् ।

शिक्षकहरूका अतिरिक्त, जिल्लाका सातवटै स्थानीय तहका उत्कृष्ट विद्यालयका एक–एक जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई पनि सम्मान गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष भगौती यादवले यस सम्मानले शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूमा थप उत्साह बढाउने र शैक्षिक नतिजा सुधारमा अझ बढी योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शिक्षकको मूल्याङ्कन बाहिरबाट नभए पनि विद्यार्थीको उपलब्धि नै उनीहरूको आत्मसन्तुष्टिको मुख्य आधार हुनुपर्नेमा जोड दिनुभयो ।

यस वर्ष नवलपरासीको एसइई नतिजामा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष जम्मा ३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने यस वर्ष ५९ प्रतिशतभन्दा बढी विद्यार्थी 'ग्रेडेड' भएका छन् । जिल्लाभरिमा सुनवल नगर क्षेत्रको नतिजा सबैभन्दा राम्रो रहेको छ । यसको विपरित, प्रतापपुर गाउँपालिकाका विद्यालयहरूको नतिजा सबैभन्दा कमजोर देखिएको छ, जहाँ जम्मा २९.७२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

पश्चिम नवलपरासीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउन महत्त्वपूर्ण योगदान दिने १४ जना जना शिक्षकहरूलाई सम्मान गरिएको छ ।