• १७ असार २०८१, सोमबार

हात्तीको आक्रमणबाट टीकापुरमा महिलाको मृत्यु

blog

हात्तीको आक्रमणमा परी ज्यान गएकी टंक सोडारी । तस्बिरः गोरखापत्र

टीकापुर (कैलाली), असार ५ गते । हात्तीको आक्रमणबाट टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १५ की एक महिलाको ज्यान गएको छ । कर्णाली नदी किनार सनकट्टि घाटमा शनिबार साँझ  जंगलबाट निस्केका दुई वटा हात्तीले आक्रमण गर्दा ५० वर्षीया टंक सोडारीको ज्यान गएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो । 

‘कर्णाली नदीमा भैरहेको तटबन्धमा मजदूरी गरिरहेकी सोडारी लगायतका कामदारहरु हात्ती देखेपछि भागेका तर सोडारीलाई हात्तीले आक्रमण गरेको रहेछ, ’ नायव उपरीक्षक शाहीले भन्नुभयो, ‘उनीहरुले खबर गरेपछि खटिएको प्रहरी टोलीले खोजीगर्दा करीब दुई घण्टापछि मृत अवस्थामा भेटिनुभयो ।’ नदी किनारमा तटबन्धका लागि तीन जना महिला ढुङ्गा संकलन गरिरहेकामा एक्कासी दुई वटा हात्ती नजिकै देखेपछि दुई जना महिला भागेका तर सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको मारेका थिए ।

टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट सोडारीले मृतकका दुई छोरा रोजगारीको सिलसिलामा भारतमा रहनु भएको र मृतक अपाङ्ग छोरी पालेर बस्नु भएको थियो । मृतक सोडारीको शव टीकापुर अस्पतालमा राखिएको छ ।

डुवेर मृत्यु

शनिबार नै रानी जमरा कुलरिया नहरमा डुबेर मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनाका ३५ वर्षीय गङ्गबहादुर  सहकारीको पनि ज्यान गएको छ । गाउँलेको मलामी जानु भएका सहकारी नुहाउने क्रममा डुबेर मृत्यू भएको ईलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।

Author

एकिन्द्र तिमिल्सेना