राधा लुइटेल
फिदिम, असार २६ गते । वर्षाका कारण पाँचथर जिल्लामा पर्ने प्रमुख राजमार्ग तथा स्थानीय सडक सञ्जाल प्रभावित भएका छन् । लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जोखिमयुक्त सडक खण्डमा यात्रा गर्दा सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
यसैबिच जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गर्दै नदी, खोला र भिर पाखा नजिकका सडक क्षेत्रमा बाढी र पहिरोका कारण थप जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
दुर्घटना हुन सक्ने सम्भावना रहेकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय पाँचथरका शाखा अधिकृत डिक प्रसाद दाहालद्वारा विज्ञप्तिमा जिल्लास्थित जोखिम युक्त क्षेत्रहरुको सूची समावेश गरिएको छ ।
प्रशासनका अनुसार फालेलुङ गाउँपालिका–६ र ७ मा पर्ने मुवाखोला, फालेलुङ गाउँपालिका–३ र ७ जोड्ने हेवाखोला घुमाउनेटार, याङवरक गाउँपालिका– ३ स्थित रिजाल भीर, वडा नं २ र ३ को सीमानामा पर्ने फलामे खोला र मेवाखोला क्षेत्रमा विशेष सर्तकता अपनाउन सुझाव दिइएको छ ।
यस्तै, मेची राजमार्ग अन्तर्गत फिदिम नगरपालिका– ६ र ७ मा पर्ने मुवाखोला , फिदिम–फलोटे सडकखण्डमा फेमेखोला क्षेत्र, सिदिनदेखि फालेलुङ जाने मित्रि सडकखण्ड, तमोर कोरिडोरअन्तर्गत तुम्बेवा गाउँपालिका–२ को नावाखोला, राके–रवि भेडेटार सडकखण्ड अन्तर्गत मिक्लाजुङ गाउँपालिका–७ लेख गाउँ शान्ति चौक र ऐना डाँडोको भित्री क्षेत्र पनि उच्च जोखिमको सूचीमा छन् ।
यसैगरी, फाल्गुनन्द गाउँपालिका–५ देखि इलामको फाकफोकथुमसम्मको सिमाना क्षेत्र, कुम्मायक गाउँपालिका–२ मोवा, चुम्लिङ, धुपिङ, माङजाबुङ हुँदै फिदिमतर्फ फाक्चुवा, लामाखोला र छोरुङगा खोलाको सडकखण्डमा समेत सतर्कता अपनाउन प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रशासनले बाढी र पहिरोबाट जनधनको क्षति हुन नदिन सबैमा सतर्क रहन, अनावश्यक यात्रा नगर्न र आपतकालीन अवस्थामा सम्बन्धित निकायसँग समन्वय गर्न पुनः अनुरोध गरेको छ ।
साथै जोखिमयुक्त स्थानमा यात्रा गर्नै परेमा जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी तथा सम्बन्धित स्थानीय निकायसँग समन्वय गर्न पनि विज्ञप्तीमा भनिएको छ ।