काठमाडौँ, असार १२ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दल-नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका प्रतिनिधिले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्र मार्फत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ बाट अलग गरी पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न धरानका प्रमुख राजनीतिक दलले माग गर्नुभएको छ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “मैले सरकारमा हुँदा धेरै विश्वविद्यालयहरू स्थापना गर्ने र अगाडि बढाउने काम गरेको छु। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो र नेपालको पूर्वी क्षेत्रको एक अत्यन्त महत्त्वपूर्ण संस्था हो। तर, यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय हो।”
माग सकारात्मक भएको भन्दै उहाँले पूर्ण रुपमा साथ दिने बताउनुभयो । “तपाईंहरू समाधानको विकल्प लिएर आउनुभएको छ, यो सकारात्मक कुरा हो। तपाईंहरूको यस मागमा म पूर्णरूपमा साथ रहन्छु ,” अध्यक्ष प्रचण्डले प्रतिबद्धता व्यक्त गर्नुभयो।