• ११ असार २०८२, बुधबार

स्थानीय तहमा भ्रमण खर्च मनपरी

blog

कालीकोट समाचारदाता

कालीकोट, असार ११ गते । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको आन्तरिक भ्रमण बढेको छ । कार्यालयको कामभन्दा पनि व्यक्तिगत काममा आउजाउ गर्ने र राज्यकोषबाट भ्रमण खर्च असुल गर्ने चलनले सीमा नाघेको छ । कालीकोटका शुभकालिका गाउँपालिकाले एक वर्षको अवधिमा भ्रमणमा मात्रै ५२ लाख ५६ हजार रुपियाँ खर्च गरेको छ । 

आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा शुभकालिका गाउँपालिकाको एक वर्षको भ्रमण खर्च ५२ लाख ५६ हजार ४८९ रुपियाँ रहेको छ । यो अरू पालिकाभन्दा बढी हो । अन्य पालिकामा पनि ४० देखि ५० लाख रुपियाँसम्म भ्रमणमा खर्च गरेका छन् । 

स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा ऐन, २०७७ तथा भ्रमण खर्च नियमावली, २०६४ बमोजिम नभएर मनोमानी तरिकाले ५२ लाख ५६ हजार ४८९ रुपियाँ भ्रमण खर्चमा खर्च गरेको जनाइएको छ । यो रकम खर्च कार्यालय कामको सिलसिलामा हो भनेर भन्ने कुनै आधार नभएको समेत प्रतिवेदनमा उल्लेख छ । 

शुभकालिका गाउँपालिकाका निवर्तमान अध्यक्ष खडानन्द चौलागाईंले आफ्नो पालामा तरिका नजानेर नियमपिरीत काम भयो होला तर यसरी भ्रमण खर्चमा लाखौँ खर्च नगरेको दाबी गर्नुहुन्छ । केही कागजपत्र राख्ने कुरा थाहा थिएन भन्दै उहाँले सुरुमा स्थानीय तह भएकाले कागजपत्र अपुग हुँदा मलेपले नियमविपरीत लेखेको जनाउनुभयो तर यसरी भ्रमण खर्च, विविध खर्च शीर्षकमा विकासे बजेट खर्च नभएको उहाँले जनाउनुभयो । शुभकालिका गाउँपालिका–३ का खडानन्द अधिकारीले पालिकाको मनोमानीले सीमा नाघ्ने गरेकाले जनतामा जनप्रतिनिधिको विश्वास घट्दै गएको बताउनुभयो । 

विविधमा ६२ लाख खर्च

गाउँपालिकाले अन्य हरेक शीर्षकमा बजेट अनियमितता गरेको छ । सबै शीर्षक सकिएर विविध खर्च शीर्षकमा पनि ठुलो रकम खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । विविध शीर्षकमा ६१ लाख ४१ हजार ५९२ रुपियाँ खर्च गरेको महालेखाले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ । 

गाउँपालिकाले पालिका केन्द्र, वडा कार्यालय र अन्य ठाउँमा चिया नास्ता, खाना, खाजाका बिल राखेर ६१ लाख ४१ हजार ५८९ रुपियाँ खर्च गर्नु नियमविपरीत हो, महालेखाले भनेको छ । 

यता शुभकालिका गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले बजेट खर्च गर्ने, रकमान्तर गर्ने अधिकार जनप्रतिनिधिलाई भएकाले आफूले रोक्ने ठाउँ नभएकाले खर्चको दायरा बढ्ने गरेको बताउनुभयो । उहाँले भ्रमणमा त जनप्रतिनिधि, वडाका कर्मचारी पनि धेरै भएकाले खर्च बढ्नु स्वाभाविक भएको जनाउनुभयो ।