खलङ्गा समाचारदाता
जाजरकोट, असार ११ गते । भूकम्पले क्षतिग्रस्त सबडिभिजन वन कार्यालयको भवन पुनर्निर्माण नहुँदा क्षतिग्रस्त भवनबाटै सेवा प्रवाह गरिरहेको छ । नलगाड नगरपालिका–७, दल्लीस्थित नलगाड सबडिभिजन वन कार्यालय भूकम्पले बस्न नमिल्ने भएको भए पनि सोही भवनबाट कार्यालयले सेवा प्रवाह गर्दै आएको हो ।
भूकम्प गएको करिब २० महिना भए पनि पुनर्निर्माण सुरु हुन नसकेपछि कार्यालय सञ्चालनमा समस्या भएको छ । भूकम्पले क्षतिग्रस्त पारेको भवन पुनर्निर्माणको कामलाई अघि नबढाउँदा समस्या बढेको हो । भूकम्पअघि आफ्नै कार्यालयबाट सेवा दिएको सबडिभिजन वन कार्यालयले भत्किएको भवनबाटै कार्यसञ्चालन गर्दै आएको छ । कार्यालयका कर्मचारी भने नलगाड नगरापलिका–२, छेप्कास्थित भाडाको घरमा बस्ने गरेका छन् ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी अज रावलका अनुसार भवन तथा आवास पुनर्निर्माण प्राधिकरण कार्यालयमा गत वर्ष मर्मतका लागि बजेट प्राप्त भएको थियो । मूल्याङ्कनबाट पुनर्निर्माण गर्नुपर्ने भएकाले सोही कार्यालयमा बजेट प्राप्त भएकाले पुनर्निर्माणको काम सुरु हुने विश्वास गरेकोमा काम हुन नसकेको उहाँले बताउनुभयो ।
नलगाड नगरपालिका–७ स्थित नलगाड सबडिभिजन वन कार्यालयका प्रमुख सन्तोष श्रेष्ठका अनुसार भवन निर्माणमा सरोकारवाला निकाय, स्थानीय सरकारले बेवास्था गरेपछि जीर्ण भवनबाट सेवा प्रवाह गर्नु परेको छ । भूकम्पले बस्न नमिल्ने बनाएपछि कार्यालय सञ्चालनमा समस्या भएको छ ।
भवन निर्माणका लागि नलगाड सबडिभिजन वन कार्यालयले कार्यालयको भवन अभाव भएपछि डिभिजन वन कार्यालय हँुदै मन्त्रालयमा पेस गरेको उहाँको भनाइ छ । लामो समय पानी पर्दा जीर्ण भवन भत्किन्छ कि भन्ने डरले कार्यालय छोडेर बाहिर आउनुपर्ने बाध्यता छ । भूकम्पका कारण भवन चिरा चिरा परेपछि कार्यालय समयमा बस्न नसक्ने अवस्था आएको बताउनुभयो । सरकारी भवन पुनर्निर्माणमा सरोकारवाला निकायले बेवास्ता गरेपछि सेवा प्रदायक र सेवाग्राही दुवै पक्षलाई समस्या हुने गरेको छ । जोखिमपूर्ण भवनबाट सेवा प्रवाह गर्नु परेकाले महत्वपूर्ण कागजात आफूसँगै राख्नु परेको उहाँको भनाइ छ ।