• १० असार २०८२, मङ्गलबार

धनुषाका ६ स्थानीय तहले बजेट ल्याउन सकेनन्

blog

छिरेश्वरनाथ नगरपालिकाको कार्यालय । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, असार १० गते । धनुषाका ६ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि निर्धारित समयमा नीति, कार्यक्रम तथा बजेट ल्याउन सकेका छैनन् ।

जिल्लाभित्रका १८ स्थानीय तहमध्ये मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिका र औरही गाउँपालिकाले समयमै बजेट ल्याउन नसकेका हुन् ।

यी स्थानीय तहले बजेट तयारी नपुगेको, आन्तरिक विवाद, जनप्रतिनिधिबीचको मतभेद र कार्यपालिका सदस्यको अनुपस्थितिका कारण समयमै बजेट पेश गर्न नसकेको स्थानीयको भनाइ छ । नगराइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम लाल कर्णले नगर अधिवेशनको लागि बोलाइएको कार्यपालिका बैठकमा १९ जना सदस्यमध्ये उपप्रमुखसहित १३ जनाको अनुपस्थित रहेकाले बजेट पेस गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार कार्यपालिका बैठक नै नबस्दा नगरसभामा बजेट पेस गर्न नसकिएको हो । 

त्यस्तै अन्य स्थानीय तहमा पनि प्रमुख तथा उपप्रमुखबीचको समन्वय अभाव, कार्यपालिका सदस्यको असहयोग र विभिन्न विकास योजना तथा बजेट शीर्षकमा मतभेदका कारण निर्धारित समयभित्र बजेट पेस हुन नसकेकोे बताइएको छ । 

केही स्थानीय तहमा राजनीतिक विवादका कारण निर्धारित समयमा बजेट पेस नहुनु गम्भीर समस्या भएको ढल्केबरका देवराज घिमिरेले बताउनुभयो । समयमै नीति, कार्यक्रम तथा बजेट नल्याउँदा सार्वजनिक सेवा प्रवाह, विकास आयोजना जस्ता महत्वपूर्ण काममा असर पर्न सक्ने उहाँको भनाइ छ ।

नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक गाउँपालिका र नगरपालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गाउँसभा वा नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ । 

सोही ऐनले नीति तथा कार्यक्रम तथा बजेट पेश गरेपछि १५ दिनभित्र बहुमतले पारित गर्नुपर्ने प्रावधानसमेत राखेको छ । तर यो प्रावधानअनुसार जिल्लाका १२ स्थानीय तहले भने निर्धारित सयममा नीति, कार्यक्रम तथा बजेट पेस गरेका छन् । यीमध्ये मिथिला बिहारी, बटेश्वर, मुखियापट्टी मुसहरनिया, जनकनन्दनी, विदेह र जनकपुरधाम नगरपालिकाले मङ्गलबार बजेट सार्वजनिक गरेका हुन् भने लक्ष्मिनियाँ, धनुषाधाम, गणेशमान चारनाथ, सहिदनगर र धनौजी नगरपालिकाले भने त्यसअघि नै आफ्नो नीति, कार्यक्रम तथा बजेट पेस  गरिसकेको छन् ।