• १० असार २०८२, मङ्गलबार

इजरायल–इरान युद्ध लम्बिँदै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १० गते । अमेरिकाले शक्तिशाली बङ्कर बमहरू प्रहार गरी इरानका तीन वटा आणविक केन्द्रमा ठुलो क्षति पुर्‍याए पनि इरानले आत्मसमर्पण गर्न नमानेसँगै इजरायल–इरान युद्ध लम्बिने भएको छ । इरानले कतार र इराकमा रहेको अमेरिकी सैन्य अखडामा सोमाबार मिसाइल आक्रमण गरेको छ । दुई दिनअघि अमेरिकाले आफ्नो आणविक भट्टीमा गरेको आक्रमणको प्रतिकारस्वरूप हमला गरिएको इरानका राष्ट्रिय मिडियालाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

युद्ध सुरु भएको ११ औँ दिन पनि इजरायल र इरानले एकअर्काविरुद्ध आक्रमणलाई तीव्र पारेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । इजरायली सेनाले इरानका छ वटा विमानस्थलमा आक्रमण गरेको छ ।  यी आक्रमणमा १५ वटा लडाकु विमान नष्ट गरिएको र केही विमानस्थलका रनवेमा क्षति पुर्‍याइएको दाबी इजरायली सेनाले गरेको छ । इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले दिएको जानकारीमा यी आक्रमणहरू इरानको पश्चिमी, पूर्वी र केन्द्रीय क्षेत्रमा रहेका विमानस्थलहरूमा गरिएको थियो । 

इजरायली सेनाले यसबाट रनवे र भूमिगत बङ्करहरूमा पनि क्षति पुगेको जिकिर गरेको छ । आइडिएफका अनुसार ती हवाई आक्रमणमा एफ–१५ र एफ–५ लडाकु विमान, इन्धन भर्ने विमान र एएच–१ कोब्रा आक्रमण हेलिकोप्टरहरू पनि ध्वस्त पारिएका छन् । यता इरानले पनि इजरायलका विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इजरायली क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले ती क्षेप्यास्त्रलाई निष्क्रिय पारेको बिबिसीले जनाएको छ । 

होर्मुज जलमार्गको चर्चा

युद्धबाट पछि नहट्ने अडान लिएको इरानको संसद्ले अमेरिकी आक्रमणको विरोधमा होर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव पारित गरेको छ । यसलाई कार्यान्वयन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा इरानका सर्वोच्च नेता अयोतोल्लाह अली खामेनीले निर्णय गरिसक्नुभएको छैन । यसैबिच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी आणविक स्थलमा अमेरिकी आक्रमणपछि महत्वपूर्ण व्यापारिक मार्ग होर्मुज जलमार्ग बन्द गर्नबाट रोक्न इरानसँग समन्वय गर्न चीनसँग आग्रह गर्नुभएको छ । तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्वपूर्ण छ किनभने इराक, कतार तथा इरान जस्ता देशहरूको तेल निर्यात यही मार्गबाट हुने गर्छ ।  रुबियोले भन्नुभएको छ, “म चीन सरकारलाई यस विषयमा कुरा गर्न आग्रह गर्दछु । खास गरी इराक, कतार र इरानबाट निर्यात हुने तेलका लागि स्ट्रेट अफ होर्मुजको प्रयोग हुने गर्छ र यो चीनमा इन्धन आयातका लागि पनि प्रमुख मार्ग मानिन्छ ।” 

“यदि इरानले होर्मुज मार्ग रोक्ने बाटो अपनायो भने यो अर्को भयानक गल्ती हुने छ । इरानी शासकले होर्मुज स्ट्रेटमा आवागमनलाई रोक्नु उनीहरूको लागि आर्थिक सङ्कट निम्त्याउने कडी बन्न सक्छ । हामीसँग यसको सामना गर्ने विकल्पहरू छन्,” विदेशमन्त्री रुबियोले भन्नुभयो ।  उहाँले भन्नुभयो, “तर अन्य देशले पनि यसलाई हेर्नु पर्छ, यसले अन्य देशको अर्थतन्त्रलाई हाम्रोभन्दा धेरै नराम्रो असर पार्ने छ । मलाई लाग्छ, यसले सङ्टग्रस्त विश्व अर्थतन्त्रलाई थप समस्यातर्फ धकेल्ने छ ।” 

सत्ता परिवर्तनको सङ्केत

उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गरेको भोलिपल्ट सोमबार इरानको सत्ता परिवर्तन गर्ने सङ्केत गर्नुभएको छ । ‘इरानको वर्तमान सरकार इरानलाई फेरि महान् बनाउन असमर्थ छ भने किन परिवर्तन नहोस्’ भनी उहाँले टिप्पणी गर्नुभएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि इरानी अतिवादी सत्ता परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । इजरायलको आग्रहमा आइतबार अमेरिकाले इरानका तीन वटा आणविक केन्द्र फोर्डो, नातान्ज र इस्फाहनमा शक्तिशाली बम प्रहार गरी आक्रमण गरेको थियो ।