• ८ वैशाख २०८१, शनिबार

मगर समुदायले काठमाडौंमा मनायो भूम्या (फोटोफिचर)

blog

काठमाडौं, असार १ गते । मगर समुदायको भूम्या (भूमे) पर्व बुधबारबाट सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन् भने काठमाडौंमा ३ गतेसम्म मनाइन्छ । नेपाल मगर संघले बुधबार काठमाडौंमा भूम्याको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउन सुरु गरिएको हो ।


मगर समुदायले प्राकृतिक प्रकोपहरु नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोबास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउछन् ।

स्थानीय मगर खाम/पाङ (भाषा) मा यस पर्वलाई नोगोबाङ्गे पनि भनिन्छ । राप्ती अञ्चलको रोल्पा, रुकुम, प्यूठान, सल्यान, दाङ र धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी जिल्लाका मगर समुदायले भूमे पर्व विशेष महत्वका साथ मनाइन्छ । पछिल्लो समय बसाइसराईको क्रम बढेपछि दाङ, काठमाडौंलगायतका क्षेत्रमा पनि यो पर्व मनाउनेको सङ्ख्या बढ्दो क्रममा छ ।


जेठ मसान्तमा गाउँमा भूम्याको उद्घाटन भएपछि युवा र बुढापाकाहरु बाजा बजाउँदै उच्च पहाडमा बुकी फूल टिप्न जान्छन् । यसरी जाँदा एकै दिनमा पुग्न नसकिने भएकाले बीच बाटोमा बास बसेर भोलिपल्ट फूल लिएर फर्कने चलन छ । पहाडबाट ल्याएको फूल एक अर्कालाई लगाएर खुशियाली मनाइन्छ ।


भूमे पूजामा मार (भेंडा, बोका, कुखुरा, सुंगुर) लाई मन्साएर लखेटी गाउँ निकाला गर्ने चलन छ । जसलाई भूम्या निकाल्ने भनिन्छ । भूम्या निकाल्दा महिलाहरुले नाङ्लो (सुपो) मा ध्वाँसो, खरानी, दशैको बेला ढोकामा चढाएको टीका जमरा, गहुँ, जौ, कमै, धान, कोदो, तोरी, आदि राखेर घरबाहिर फाल्ने चलन छ। यसो गरेमा घरभित्रका पीर मर्का भूम्या पर्वसँगै हट्छ भन्ने मान्यता छ । भूम्या थानमा देवतालाई बली दिएर पूँजापाठ गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाचिन्छ ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।