मोहनसिंह बुढा
अदानचुली, (हुम्ला) असार ६ गते । खार्पुनाथको खार्पु हुँदै बग्ने चुवाखोला–कर्णाली नदीमाथि निर्माण भइरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेको छ । ९९ प्रतिशत काम भइसकेको बेलिब्रिज जडान भएसँगै हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना पूरा हुने भएको हो ।
नेपाली सेनाका अनुसार बेलिब्रिज केही दिनभित्रै सञ्चालनमा आउनेछ । यससँगै सिमकोट–खार्पु मार्ग हुँदै सदरमुकाम सिधै राष्ट्रिय सडक सञ्जालमा जोडिने छ । यससँगै कर्णाली प्रदेशको भौगोलिक जटिलता हटाउँदै आर्थिक विकासको गति थपिने अपेक्षा गरिएको छ । दुर्गम हुम्लाका स्थानीयवासी, व्यापार, स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवामा पहुँचका लागि अब लामो दूरी पैदलयात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुने छ ।
सडक सञ्जाल नजोडिएको नेपालको अन्तिम सदरमुकाम सिमकोट अब राष्ट्रिय सञ्जालमा जोडिन लाग्दा स्थानीयवासीमा उत्साहको लहर फैलिएको छ । स्थानीय नेता, जनप्रतिनिधि, विकासप्रेमी नागरिक तथा व्यापारीहरुले यसलाई ‘हिमाली विकासको सुनौलो अवसर’ भन्दै स्वागत गरेका छन् ।
यो परियोजना सम्पन्न गर्न नेपाली सेना नं. १४ बाहिनी अड्डाअन्तर्गतको फौजको कमाण्ड गर्दै पहिलो चरणमा गत चैत्रबाट सेनानि रनजित बुढाथोकी नेपाली सेनाको इञ्जिनियर टोलीसहित खार्पु पुगेको थियो । अब केही दिनभित्रै खार्पु हुँदै बग्ने चुवाखोला–कर्णालीको मेटरी प्यानल ब्रिज सञ्चालनमा आएपछि सिमकोट सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा औपचारिकरूपमा जोडिने भएको छ ।