• ६ असार २०८२, शुक्रबार

बजेट कार्यान्वयन उदाहरणीय हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ६ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सन्तुलित र यथार्थपरक बजेट ल्याइए झैँ आर्थिक वर्ष २०८२/८३ को बजेट उदाहरण पेस गर्ने गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले हरेक मन्त्रालयलाई कार्यान्वयनका सन्दर्भमा कार्ययोजना बनाएर अगाडि बढ्न जोड दिइएको बताउनुभयो । 

राष्ट्रिय सभामा आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले बजेट दुवै सदनबाट पारित भएको अवस्थामा साउन लाग्दा नलाग्दै ठेक्का सम्झौता गरी अगाडि बढ्ने बताउनुभयो । बजेट सन्तुलनलाई मापन गर्ने तीन वटा उपकरण– राजस्व अनुमान, वैदेशिक सहयोग र आन्तरिक ऋणका मामिलामा यथार्थपरक र सन्तुलित भएको उहाँको दाबी थियो । 

अर्थमन्त्री पौडेलले भन्नुभयो, “चालु आवमा राजस्व सङ्कलनबाट ३१ प्रतिशत स्रोत व्यवस्थापन हुने अनुमान गरियो । आगामी बजेटमा सो सीमा घटाएर १६ प्रतिशत गरेका छौँ । राजस्वको दायरा विस्तार र राजस्व चुहावट नियन्त्रण गरेर सो लक्ष्य पूरा गर्न सकिन्छ ।”

उहाँले विगतमा भएका सम्झौता र प्रतिबद्धताका आधारमा वैदेशिक सहायताको अनुमान गरिएको र आन्तरिक ऋणसमेत वित्त आयोगले तोकेको ५.५ प्रतिशतको सीमाभन्दामुनि नै रहेर उठाउने लक्ष्य लिएकाले बजेट सन्तुलित र यथार्थपरक भएको तर्क गर्नुभयो । 

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले समाजवादले समग्र सामाजिक, आर्थिक र सांस्कृतिक व्यवस्थालाई प्रतिनिधित्व गर्ने हुनाले समाजवाद उन्मुख अर्थतन्त्रका लागि पूर्वतयारीस्वरूप बजेटले निश्चित बाटो समातेको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवादको अवस्थामा पुग्न पूर्वतयारी गर्नु पर्छ । अहिलेको अवस्था समाजवादको होइन । पुग्न लामो यात्रा गर्नु पर्छ । त्यसैले समाजवाद उन्मुख भनेका छौँ ।”

अर्थमन्त्री पौडेलले संविधानको भावनालाई प्रस्तुत बजेटले आत्मसात् गरेको बताउँदै लोकतान्त्रिक प्रणाली र बहुदलीय प्रतिस्पर्धासहितको संविधानको व्यवस्थाबमोजम बजेट आएको उल्लेख गर्नुभयो । 

जनतामा निराश भएर व्यवस्थाविरोधी गतिविधिमा लागेको भन्ने प्रश्नको जवाफमा अर्थमन्त्री पौडेलले भन्नुभयो, “बजेटले असन्तुष्ट, निराशालाई सम्बोधन ग¥यो/गरेन भन्ने विषयमा समाजका विभिन्न क्षेत्रले जनाएको प्रतिक्रियाबाट नै स्पष्ट भएको छ । हाम्रो बजेटका व्यवस्था कार्यान्वयनयोग्य,  स्रोतको  अनुमान विश्वसनीय, आयोजना कार्यान्वयन 

हुने विश्वासको आधार हुनुपर्ने कोणबाट निर्देशित भएर ल्याइएको हो ।”

उहाँले नयाँ कार्यक्रम र योजनाको घोषणाभन्दा विगतमा घोषित आयोजना र कार्यक्रमको कार्यान्वयनबाट स्पष्ट रूपमा अगाडि बढ्न चाहेको बताउनुभयो । नयाँ सपना देख्नेभन्दा पनि देखिएका सपनालाई पूरा गर्ने गरी बजेटमा कार्यक्रम राखिएको उहाँले बताउनुभयो । 

आफू र बजेटको मार्गचित्रलाई लिएर विकृत, दलाल, नोकरशाह, दिशाहीन पुँजीवाद जस्तो विश्लेषण गरिएकोमा त्यसमा आफ्नो असहमति रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसप्रकारको आरोप आग्रहपूर्ण छ । बजेटले दृष्टिकोण सारेको छ । जग्गा बाँझो नराखौँ । पालिकाले बाँझो जग्गा जम्मा गर्ने र पालिकामार्फत नै खेती गर्न उपलब्ध गराउने बजेटमा व्यवस्था गरिएको छ । उत्पादन र उत्पादकत्वका लागि यो उत्तम हुने छ ।”

अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख भएका नीति तथा कार्यक्रम हेर्दा सामाजिक संरक्षण, लक्षित समुदायकेन्द्रित रहेको र यसले आर्थिक शिथिलतालाई सम्बोधन गरेको दाबी गर्नुभयो । करिब तीन हजार तीन सय जति तीन करोड रुपियाँभन्दा बढीका आयोजना बजेटमा समेटिएका छन् । 

बजेटले पुरानै अभ्यासबमोजिम सानो रकमको योजना समेटिएकाले सभाका सदस्यहरूले आपत्ति जनाएकोमा अर्थमन्त्री पौडेलले नयाँ योजनामा तीन करोडको सीमा पालन गरिएको दाबी गर्नुभयो ।