• १२ पुस २०८१, शुक्रबार

आम्दानीको स्रोत बन्दैछ वन लसुन

blog

भोजपुर, असार १ गते । खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश बासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन विक्री गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र यहाँबाट रु. एक करोड बराबरको करिब ५५ टन वन लसुन बाहिएको छ । व्यावसायीहरुले वन कार्यालयबाट पुर्जी काटेर आधिकारिक रुपमा बिक्री गर्ने गर्दछन् भने कतिपयले सिधै बजारमा पुर्‍याउने गरेका छन् ।

वन लसुनको विक्रीबाट यस वर्ष जिल्लामा रु. एक करोड १० लाख बराबर रकम भित्रिएको वन कार्यालय भोजपुरले जनाएको छ । खेती नगरिए पनि खेतबारी पाखाभित्तामा यो लसुन प्रशस्त मात्रामा पाइने गर्दछ । एक पटक खेतबारीमा लगाएपछि सामान्य हेरचाह गरे मात्र पनि २०/२५ वर्षसम्म आम्दानी लिन सकिन्छ ।

स्थानीयवासीले यसलाई सङ्कलन गरेर सुकाएपछि प्रतिकेजी २२० देखि २५० रुपियाँसम्म पाउने गरेका छन् । यसको गानोलाई उसिनेर सुकाएपछि बिक्रीको लागि योग्य हुने गर्दछ । एक रोपनी जग्गामा १२० केजीसम्म उत्पादन लिन सकिने कृषकहरु बताउँछन् ।

केही वर्षदेखि वन लसुनको व्यावसायिक कारोबार गर्दै आउनु भएका रुद्र लुइँटेलले यसको बजार माग धेरै रहेको बताउनुभयो । वार्षिक रुपमा भोजपुरबाट एक करोड बढी मूल्यको वन लसुन अन्य देशमा जाने गरेको उहाँले बताउनुभयो । लुइँटेलले भन्नुभयो, ‘‘बजारमा वन लसुनको माग धेरै छ । व्यावसायिक रुपमा खेती गर्ने हो भने पनि बजारको समस्या छैन ।’’ आफूले यस वर्ष नै ३५ टन लसुन बजारमा बिक्री गर्न सकेको उहाँको भनाइ छ ।

एक प्रकारको फूल जस्तो देखिने यो लसुन फागुन/चैत महिनामा सङ्कलन गर्ने गरिन्छ । यसरी सङ्कलन भएको लसुन स्थानीय ठेकेदारले झापा, काठमाडौंलगायत विभिन्न शहरमा मात्र नभई छिमेकी मुलुक भारतलगायत देशमा समेत निर्यात गर्ने गर्दछन् । स्थानीयमा व्यावसायिक धारणाको विकास भएमा वन लसुन राम्रो आम्दानीको स्रोत बन्ने व्यवसायी लुइँटेलले बताउनुभयो । यहाँका खेर गइरहेका जग्गालाई सदुपयोग गरेर यसको व्यावसायिक खेती गरे स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउन टेवा पुग्ने देखिन्छ ।

वन लसुन आमचोक गाउँपालिकाको थिदिङ्खा, भोजपुर नगरपालिकाको दाँवा, बोखिम, आम्तेक, पौवादुङमा गाउँपालिकाको श्यामशिला, तिवारी भञ्याङलगायत जिल्लाका विभिन्न  ठाउँमा प्रशस्त मात्रामा पाइन्छ । खेतबारीमा उम्रिएर धान, मकै, कोदोलगायत बालीलाई ढाकेर दुःख दिने भएकाले किसानले उखेलेर नष्ट गर्दै आएका छन् । ‘‘यो बिक्री हुन्छ भन्ने पहिला हामीलाई थाहा थिएन । हाम्रो ध्यान यसलाई कसरी नष्ट गरेर अन्य बालीलाई जोगाउने भन्नेमा जान्थ्यो । बिक्री हुने थाहा भएपछि अहिले सङ्कलन गरेर सुकाएर बेच्न थालेका छौँ’’ टेम्केमैयुङ–१ तिम्माका कृषक डम्बरबहादुर विष्टले भन्नुभयो,‘‘सङ्कलन भएको लसुन किन्न ठेकेदारहरु घरमा नै आउँछन् । यसलाई केलाएर सुकाउन चाहिँ अलि झन्झटिलो छ ।’’

देशभरबाट सङ्कलन भएको यो लसुन डाबर नेपालमार्फत अन्य देशमा निर्यात हुने  गरेको काठमाडौंमा व्यवसाय गर्दै आउनु भएका पुष्पराज खड्काले बताउनुभयो । प्रशोधन गरेर राम्रो खालको चेवनप्रासमा र त्यसबाट बाँकी रहेको वस्तु साबुनसँगै अन्य धेरै वस्तुहरुको उत्पादनमा प्रयोग हुने खड्काले जानकारी दिनुभयो ।

यो लसुन समुन्द्री सतहबाट ८०० मिटरदेखि दुई हजार मिटरसम्मको उचाइमा प्रशस्त मात्रामा पाइने डिभिजन वन कार्यालयले जनाएको छ । स्थानीयवासीको आयस्रोतमा वृद्धि गर्नको लागि आगामी दिनमा यसको खेतीलाई प्रोत्साहन गर्ने योजना रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख उदिमप्रसाद राईले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ यहाँ धेरै वन लसुन उत्पादन हुने सम्भावना रहेकाले कृषकलाई यसतर्फ आकर्षित गर्न सकिएमा राम्रो आम्दानी गर्न सकिने भएकाले योजनाबद्ध रुपमा काम गर्ने तयारीमा छौँ ।’’

रामप्रसाद राई गाउँपालिका-१ ओख्रेका एक सय बढी कृषकले यसलाई आमदानीको भरपर्दो स्रोत बनाउन थालेका छन् । एक कृषकले २०० देखि ४०० केजीसम्म विक्री गर्दै आएको स्थानीय कृषक डिबी राईले जानकारी दिनुभयो । राम्रो ढङ्गले सङ्कलन गर्न सके यसबाट मकै, आलुभन्दा राम्रो आम्दानी लिन सकिने कृषक राईको भनाइ छ ।

किसानले यसलाई फुलेको समयभन्दा पनि फूल झरिसकेपछि सङ्कलन गर्ने गर्दछन् । फूल फुलेको समयमा सङ्कलन गर्दा यसको तौल कम हुने कृषकको भनाइ छ । उचित समय पारेर सङ्कलन गरेमा एउटा गानो २५ ग्रामसम्मको हुने उनीहरुको भनाइ छ ।

के हो वन लसुन ?
नेपालको रैथाने विरुवा वन लसुनको वैज्ञानिक नाम लिलियम एसपिपी हो । यसको बोट सामान्यतः एकदेखि दुई फुटसम्म अग्लो हुन्छ । यसलाई एक प्रकारको फूलको रुपमा पनि लिन सकिन्छ । चिल्ला पातको छेउबाट सुन्दर फूलहरू फुलेको हुन्छ । तापक्रम र उचाइको आधारमा यसका फूलहरु सेतो, सुनौलो, हल्का पहेंलो फूलेको देखिन्छ भने यसको  फूलमा छ वटा पुङ्केशर हुन्छ । यो बिरुवा वनस्पति जगतको लिली परिवारभित्र समावेश छ । यसको गानोमा लाग्ने पोटीहरू छाती दुख्दा खाने गरिन्छ भने यसलाई शक्तिबर्द्धक जडीबुटीको रुपमा पनि लिने गरिन्छ ।

शरीरमा तागत कम भएमा यसलाई खान सकिने स्थानीय जानकारहरुको भनाइ छ ।  वन लसुन घाउ, चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा प्रयोग हुने बताइएको छ । यसलाई कतिपय स्थानीयवासीले सजावटको लागि फूलबारीमा समेत रोप्ने गरेका छन् भने कतिपय कृषकले यसलाई मिचाहा प्रकृतिको वनस्पति रुपमा लिने गर्दछन् ।

भोजपुरलाई वन लसुनसँगै अन्य जडीबुटी उत्पादनको हिसाबले उर्बर जिल्ला मानिन्छ । यहाँ सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदमचाल, वन मूला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोठसल्ला, चिराइतो बिखुम्बालगायत जडीबुटी पाइन्छ ।