• ३ असार २०८२, मङ्गलबार

हिमाली क्षेत्रको तालिम केन्द्र अलपत्र

blog

समितिका पदाधिकारीद्वारा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको अनुगमन गरिँदै । तस्बिर : नौरते नेपाली

नौरते नेपाली

सिँजा (जुम्ला), असार ३ गते । जग्गा विवादका कारण निर्माण अलपत्र परेको जुम्लापातारासी गाउँपालिका–३ स्थित लौठचौरमा निर्माणाधीन हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणलाई अघि बढाउन पहल समिति गठन गरिएको छ । जग्गा विवाद तथा सरोकारवालाले चासो नदिँदा आठ वर्षदेखि अलपत्र ट्रेनिङ सेन्टर निर्माण अघि बढाउन पहल समिति गठन गरिएको हो । 

हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणको समस्या समाधान गर्न पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाको संयोजकत्वमा पहल समिति गठन गरिएको छ । उपाध्यक्ष रोकायाको संयोजकत्वमा तीन वडाध्यक्षसहित सात सदस्यीय पहल समिति गठन भएको हो । उक्त समितिले जग्गा विवाद मिलाउनेदेखि अन्य सबै कामको कानुनी प्रक्रिया पूरा गरी निर्माणको बाटो खुलाउने छ । जिल्ला खेलकुद विकास समितिको प्रमुखका रूपमा आउनुभएका कविदत्त न्यौपानेको सक्रियतामा अलपत्र ट्रेनिङ सेन्टर अघि बढाउन पहल समिति गठन गरिएको छ । 

आइतबार जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र खेलकुद विकास समितिको सहजीकरणमा गरिएको संयुक्त अनुगमनपछि जग्गा विवाद टुङ्ग्याउन र निर्माण कार्यलाई अघि बढाउन पहल समिति गठन गरिएको हो । ट्रेनिङ सेन्टर निर्माणको जग्गा पातारासी गाउँपालिकाको नाममा पास गर्ने निर्णय भएको छ । विगतमा वडा, गाउँपालिका र खेलकुद विकास समितिमध्ये कसको नाममा जग्गा पास गर्ने विषयमा अन्योल भएर जग्गा विवाद चुलिएको थियो । आवासीय भवनसहित हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्न ५० हजार वर्गमिटर जग्गा चाहिनेमा १२ हजार वर्गमिटर जग्गा मात्र दिन जग्गादाता तयार छन् । बाँकी ३८ हजार वर्गमिटर जग्गा प्राप्तिमा विवाद भएपछि निर्माण रोकिएको थियो । 

विद्यालय र स्थानीयबीच जग्गा विवाद चुलिएपछि निर्माण रोकिएको हो । हालसम्म जग्गा विवाद नटुङ्गिँदै करिब दुई करोड रुपियाँ खर्च भइसकेको छ । उक्त बजेटले मैदानको माटो सम्याउने मात्रै काम भएको छ । हरेक वर्ष बजेट विनियोजन हुने तर जग्गा विवाद कायमै रहँदा खर्च नहुने समस्या रहेपछि सरोकारवालाले अनुगमन गरेका छन् । सो ट्रेनिङ सेन्टर कर्णाली प्रदेशकै महत्वको आयोजना भएकाले कुनै पनि हालतमा पूर्णता दिनुपर्नेमा समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जोड दिनुभयो । 

ट्रेनिङ सेन्टर निर्माणका लागि पहिलो पटक १५ लाख, दोस्रो पटक ७५ लाख, तेस्रो पटक ५० लाख र चौथो पटक ५० लाख रुपियाँ विनियोजन भइसकेको छ । करिब दुई करोड रुपियाँ खर्च भइसक्दासमेत जग्गा विवाद नमिल्दा आयोजना अलपत्र बनेको हो । १२ जनामध्येका एक जग्गादाता रणबहादुर महताराले पहिल्यै मन्जुरीनामा दिइसकेकाले ट्रेनिङ सेन्टर बनाउन जग्गा दिने बताउनुभयो । ३१ सय वर्गमिटर जग्गाको मन्जुरीनामा दिन तयार रहेको उहाँको भनाइ छ । पातारासीकी उपाध्यक्ष तथा पहल समिति संयोजक जनमाया रोकायाले प्रदेशकै गौरवको आयोजनाका रूपमा रहेको ट्रेनिङ सेन्टर अघि बढाउनुपर्ने बताउनुभयो । 

चालु आवका लागि आएको पाँच करोड २९ लाख रुपियाँ फ्रिज भएको छ । खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले सुरुमा ‘एक विद्यालय एक खेलमैदान’ कार्यक्रम अनुसार ट्रेनिङ सेन्टर निर्माण सुरु गरिएको बताउनुभयो । पछि जग्गालगायत अन्य कारणले उक्त आयोजना अलपत्र परेको हो । 

पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले सुरुमै ट्रेनिङ सेन्टर बनाउँदा जग्गा विवाद टुङ्ग्याउनुपर्नेमा हचुवामा काम भएको बताउनुभयो । उहाँले प्रदेशकै गौरवको आयोजना भएकाले सबै मिलेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।