गोरखापत्र अनलाइन
काठमाडौँ, असार २ गते । नेकपा (एमाले) का सांसद पदम गिरीले सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्याएको बताउनुभएको छ । सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले राष्ट्रिय योजना आयोगले दिएको बजेटको सीमालाई सरकारले क्रस गर्ने काम नगरेको जिकिर गर्नुभयो । उहाँले अनुशासनले भोलिका दिनहरूमा योजनालाई कार्यान्वयन गर्ने, पुँजीगत खर्च बढाएर परिणाममुखी बनाउने र उत्पादनमुखी बनाउन सकिन्छ भन्ने कुरामा विश्वास दिलाएको जिकिर गर्नुभयो ।
उहाँले विगतमा आयोजना छनोट गर्दा गरिने लोकरिझ्याइँको कामले १८ हजार आयोजनालाई समयमा कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । सांसद गिरीले विगतबाट शिक्षा लिँदै सरकारको आयोजना वर्गीकरण मापदण्डअनुसार ३ करोडभन्दा साना आयोजना सङ्घीय सरकारले कार्यान्वयन नगर्ने सरकारको नीतिअनुरूप बजेट प्रतिविम्वित भएर आएको प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय योजना आयोगले दिएको जुन बजेटको सीमा थियो, ९ खर्ब ७५ अर्बको सीमाभित्र बसेर १९ खर्ब ६४ अर्ब बजेट ल्याउने काम सरकारले गरेको छ । यसमा पनि योजना आयोगको सीमालाई सरकारले क्रस गर्ने काम गरेन । त्यो अनुशासन कायम गर्ने कुराले भोलिका दिनहरूमा यो योजनालाई कार्यान्वयन गर्न सकिन्छ ।”
हाम्रा पुँजीगत खर्चहरूलाई अधिकतम खर्च गर्न सकिन्छ भन्दै उहाँले यसलाई परिणाममुखी बनाउन उत्पादनमुखी बनाउन सकिन्छ भन्ने कुरामा बजेटले हामीलाई विश्वास दिलाएको बताउनुभयो । आयोजना छनोट गर्दा विगतमा जुन प्रकारको लोकरिझ्याइँको काम हामीले गर्ने गरेका थियौं, १८ हजार आयोजनाहरू जुन किसिमले किताबमा समावेश गर्यौं, त्यसलाई हामीले समयमा कार्यान्वयन गर्न नसकेको उहाँको भनाइ छ ।
त्योबाट शिक्षा लिँदै नेपालको संविधान कार्य विस्तृतीकरण प्रतिवेदन र सरकारको आयोजना वर्गीकरण मापदण्डअनुसार ३ करोडभन्दा साना आयोजनाहरू सङ्घीय सरकारले कार्यान्वयन नगर्ने सरकारको नीतिअनुरूप बजेट प्रतिबिम्बित भएर आएको उहाँले बताउनुभयो । उहाँले भविष्यमा बजेट निर्माणको क्रममा पनि अनुशासनको सीमाभित्र बसे देशको अर्थतन्त्रलाई नयाँ लयमा लैजान सकिने विश्वास व्यक्त गर्नुभयो ।