• ३१ जेठ २०८२, शनिबार

कर घटाउन माग गर्दै सुनचाँदी व्यवसायीले बुझाए ज्ञापनपत्र

blog

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मनिष झालाई ज्ञापन पत्र बुझाउँदै नेपाल सुनचाँदी व्यवसायी रत्न आभूषण संघ, रौतहट, रौतहट सुनचाँदी व्यवसायी संघ तथा चन्द्रपुर सुनचाँदी व्यवसायी संघ । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 

चन्द्रपुर (रौतहट), जेठ ३० गते । नेपाल सुनचाँदी व्यवसायी रत्न आभूषण सङ्घ, रौतहट, रौतहट सुनचाँदी व्यवसायी सङ्घ तथा चन्द्रपुर सुनचाँदी व्यवसायी सङ्घले सुन र सुनका गहनामा लगाइएको दुई प्रतिशत विलासिता कर र हीरा–जवाहरात जडित गहनामा लागु गरिएको ९ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल खारेज गर्न माग गरेको छ ।

सङ्घले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मनीष झामार्फत नेपाल सरकारका माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेपाल सरकारले आर्थिक वर्ष २०८२-०८३ को बजेट मार्फत लागु गरेको करका कारण व्यवसाय सञ्चालनमा गम्भीर चुनौती उत्पन्न भएको जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी रत्न आभूषण सङ्घ, रौतहटका अध्यक्ष उमेश साहले सुनको मूल्य निरन्तर बढ्दै गएको र विभिन्न नाममा थपिएका करहरुले व्यवसायमा सङ्कटको अवस्था सिर्जना भएको बताउनुभयो । सरकारसँग बारम्बार आग्रह गर्दा पनि मागको सुनुवाइ नभएपछि आन्दोलनका कार्यक्रम गर्नुपरेको उहाँले बताउनुभयो ।

ज्ञापन पत्र बुझाउने क्रममा चन्द्रपुर सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष भीमबहादुर विश्वकर्माले सुनचाँदीको कारोबारलाई दीर्घकालीन रुपमा प्रोत्साहित गर्न छिटो नियम तथा नीतिहरु निर्माण गरिनुपर्ने तथा निर्यातको ढुवानीमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गरिनुपर्ने बताउनुभयो ।

सङ्घले सुनचाँदीको कारोबारलाई दीर्घकालीन रुपमा प्रोत्साहित गर्न ऐन, नियम तथा नीतिहरुको निर्माण, कर संरचना परिवर्तन गर्न पूर्व व्यवसाय, रोजगारी र बजारमा पर्ने असरबारे विस्तृत अध्ययन, व्यवसायमैत्री नीति, निर्माणमार्फत सुनचाँदी क्षेत्रलाई स्थायित्व प्रदान गर्न माग गरेको छ ।

ज्ञापन पत्र बुझ्दै प्रशासकीय अधिकृत झाले व्यवसायीहरुको ज्ञापन पत्र माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीलाई पठाइ सङ्घका जायज मागहरु सम्बोधन गर्न सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सङ्घको आह्वानमा रौतहटका सम्पूर्ण सुनचाँदीका पसल बिहीबार र शुक्रवार बन्द छन् ।