• ३१ जेठ २०८२, शनिबार

बाघ र किसानको अंश (कथा)

blog

एउटा गाउँमा एक किसान परिवार थियो । गाउँबाट केही टाढा किसानको खेतबारी थियो । सधैँ किसान आफ्नो खेतबारीमा काम गर्न जाने गर्नुहुन्थ्यो । किसानले आफ्नो खेतबारीमा धेरै प्रकारका तरकारी खेती गर्नुभएको थियो । किसानसँग खेत जोत्नका लागि एक हलगोरु पनि थियो । हलगोरु नारेर किसानले आफ्नो खेतबारी जोत्ने गर्नुभएको थियोे । 

खेतबारीनजिकै जङ्गल पनि थियो । धेरै वर्षदेखि किसानले आफ्नो खेतमा मेहनत गरेर काम गर्ने गर्नु हुन्थ्यो । आफ्नो खेतबारीमा फलाएको तरकारी गाउँनजिकैको बजारमा लगेर बेच्ने गर्नुभएको थियो । तरकारी बेचेर कमाएको पैसाले परिवारको खर्च टार्ने काम गरेको थियो । 

आफ्नो काम र आम्दानीबाट किसानको परिवार खुसी थियो । आफ्नो दैनिक काममा कुनै समस्या थिएन । किसान एकदमै मेहनती हुनुहुन्थ्यो । मेहनतको फल पनि मिठो हुन्थ्यो । किसान र उहाँको परिवारको दिन आनन्दले बितिरहेको थियो ।

सधैँ झैँ आज पनि किसान आफ्नो हलगोरु लिएर खेतबारीमा काम गर्न जानुभयो । नजिकैको जङ्गलबाट एउटा बाघ गर्जदै सरासर किसाननजिक आयो । 

सुरुमा त किसान डरले थर थर काम्न थाल्नुभयो । हलगोरु त्यहीँ छाडेर भाग्ने सोच बनाउनुभयो । किसानको निधारमा चिटचिट पसिना आयो । के गरु; कसो गरु भयो । 

किसानको नजिकै आएर बाघले भन्यो, “हेर किसान, यो जङ्गलको छेउमा तिमीले खेती गरेको धेरै वर्ष भयो । आजसम्म त मैले तिमीलाई केही भनेको छैन । तिमीलाई थाहै छ, म यस जङ्गलको राजा हुँ । यहाँको नियम कानुन मैले भने अनुसार हुनु पर्छ । नत्र म तिम्रो ज्यान लिन पनि पछि पर्ने छैन् ।”

बाघको कुरो सुनेर किसान छक्क पर्नुभयो । अनाहकमै ज्यान गुमाउनुभन्दा त यो बाघको सर्त मान्नु नै बेस हुने छ भनेर मनमनै सोच्नुभयो ।

“भन न त जङ्गलको राजा, तिमीले के भन्न खोजेका हौ ? छिटो भन,” किसानले भन्नुभयो ।

बाघ पनि गमक्क पर्दै भन्यो, “हेर किसान यतिका वर्ष तिमीले यहाँ खेतीपाती ग¥यौ । तिमीले खेती गरेबापत राजालाई कुत बुझाएका छैनौँ । अब आइन्दा यस खेतीमा उब्जिएको अन्नपात र सागसब्जी अधियाँ (आधा राजालाई र आधा किसानलाई) गर्नुपर्ने छ । यो सर्त मञ्जुर भए खेती गर । नत्र भने यहाँबाट गइहाल ।”

स्वयं घोषित जङ्गलको राजा बाघको उर्दी सुनेर किसान तीनछक पर्नुभयो । किसानले ज्यानभन्दा ठुलो केही होइन भन्ने ठानेर बाघको सर्त मञ्जुर गर्ने सोच बनाउनुभयो । 

अहिलेलाई यसको कुरा मानिदिन्छु । पछि हेरौँला । किसानले मनमनै सोचेर बाघलाई भन्नुभयो, “हुन्छ । म तिम्रो सर्त मान्न तयार छु ।” 

किसानको कुरा सुनेर बाघ पनि दङ्ग प¥यो । बाघले भन्यो, “यसपालि के के बालीनाली लगाउने विचार गरेका छौँ त किसान ?”

किसानले पनि बाघलाई जिल्याउने विचार गरी भन्नुभयो, “हेर राजा बाघ, मैले यसपालि यो खेतमा आलु, पिँडालु, गाँजर र मुलाको खेती गर्ने विचार गरेको छु ।” “त्यसो हो भने अहिले नै सर्त गरौँ । आलु, पिँडालु, गाँजर र मुलाको जमिनमाथिको भाग राजाको तथा जमिन मुनिको भाग किसानको । यसरी आधा आधा बाडौँला । सर्त मञ्जुर छ तिमीलाई किसान ?” बाघ कड्कियो । 

किसान बुद्धिमान हुनुहुन्थ्यो । किसानले एकछिन सोचे जस्तो गरेर भन्नुभयो, “हुन्छ राजा हजुर हुन्छ ।”

बाघ पनि दङ्ग भयो । “म खेतीपाती भिœयाउने बेलामा आउँला । अहिलेलाई आनन्दसित खेतीपाती गर । म दरबारतिर गएँ” भन्दै बाघ जङ्गल पस्यो । आजलाई ज्यान जोगिएकोमा सन्तोषको सास फेर्दै किसान पनि घर फर्कनुभयो । 

यस वर्ष बाघलाई वाचा गरे अनुसार नै आलु पिँडालु, गाँजर र मुलाको खेती लगाउने विचार किसानले गर्नुभयो ।

बालीनाली भित्र्याउने समय आयो । किसान गोरुगाडा लिएर खेतबारीमा जानुभयो  । बाघ पनि पहिला जस्तै हुँकार गर्दै जङ्गलबाट टुप्लुक्क आइपुग्यो । किसानले आलु, पिँडालु, गाँजर, मुला आदि तरकारी उखेलेर धमाधम गोरुगाडामा हाल्नुभयो । आलु, पिँडालु, गाँजर, मुला, सागपातका डाँक्ला, हाँगाबिँगा, लहरा आदि बाघको भाग छुट्याएर थुप्रो लगाइदिनुभयो । आलु, पिँडालु, गाँजर, मुला, सागपातका डाँक्ला, हाँगाबिँगा, लहरा आदिको थुप्रो देखेर बाघ दङ्ग प¥यो । किसानले गोरुगाडामा हालेको सामानभन्दा बाघको भागमा छुट्याएको भागको थुप्रो ठुलो थियो । किसानको भागभन्दा ठुलो थुप्रो देखेर बाघ दङ्ग प¥यो ।

“ल, बाघ राजा मैले मेरो भाग गोरुगाडामा हालेर बजारतिर बेच्न हिडँे । तिमीले पनि आफ्नो भाग दरबारतिर लगेर मजाले खानु । धन्यबाद ।” भन्दै किसान बजारतिर लाग्नुभयो ।

बाघ पनि किसानलाई थर्काएको भरमा सित्तैमा पाएको यत्रो आधा भाग दरबार लगेर मजाले खाउँला भन्दै आफ्ना नोकरचाकरलाई बोक्न लगाएर दरबारको बाटो ततायो । उता किसानले दिनभर लगाएर आफ्ना उत्पादन बचारमा बेच्नुभयो । बेलुकी कमाएको पैसा थैलामा हालेर बजारबाट घरतर्फ फर्कनुभयो ।

दरबार पुगेर बाघले किसानसँग थर्काएर ल्याएको आधा भागबाट मिठोमिठो छानीछानी खाने सुर ग¥यो । मूलाको पात चपायो, उसलाई टर्रोटर्रो लाग्यो । योभन्दा त अर्को मिठो होला भन्ठानेर गाँजरको एकमुठा पात मुखमा हाल्यो । यो त झन् टर्रो पो रहेछ । यो लामो लामो पात त स्वादिलो होला ? भन्ठानेर पिँडालुको एक अँगालो पात चपायो । यसले त कोक्याएर बिछट्टै ग¥यो ।

बाघ रिसले चुर भयो । “म राजा जस्तो जनावरलाई त्यस किसानले झुक्याउने ? त्यसलाई तह नलगाई छाड्दिन,” भन्दै किसान खोज्न बाघ दौडियो ।

बजारबाट सामान बेचेर फर्कदै गरेको किसानलाई बाघले बाटैमा भेट्यो । “के हो किसान ? मलाई झुक्याउने ? मिठो र स्वादिलो चाहिँ तिमी खाने, टर्राे, कोक्याउने चाहिँ मलाई दिने ?” बाघले भन्यो ।

बाघको कुरा सुनेर किसानले भन्नुभयो, “हेर बाघ तिमी त जङ्गलको राजा हौ । तिमीले दिएको आदेश मैले मानेको त हुँ नि । यसमा मेरो के दोष छ र ? फेरि अर्को साल तिमी जमिनभित्रको खाऔला म चाहिँ जमिन माथिको खाउँला ।” 

किसानको कुरा सुनेर बाघले पनि अर्को साल मिठो खान पाउने आशाले हुन्छ भनी किसानको अघि लुत्रुक्क परेर जङ्गलतर्फ फर्कियो ।

किसान त बाठो हुनुहुन्थ्यो । अर्को वर्ष किसानले फेरि जुक्ति निकाल्नुभयो । यसपालि किसानले खेतवारीमा लौका, फर्सी, घिरौँला, करेला आदि लगाउनुभयो । यसपालि पनि बाघको सर्त अनुसार नै बालीनाली भाग लगाइयो । आआफ्नो भाग बोकेर किसान र बाघ दुवै आआफ्नो बाटो लागे । त्यसपछि बाघको हालत के भयो होला ? भाइबहिनीहरू आफैँले अनुमान लगाउनु होला ।  

   मुना