• ३१ जेठ २०८२, शनिबार

बागलुङका पालिकामा लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

blog

सदरमुकाममा रहेको बागलुङ नगरपालिकाको प्रशासनिक भवन । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, जेठ ३० गते ।
चालु आर्थिक वर्षमा बागलुङका अधिकांश पालिकाले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएका छन् । लक्ष्य अनुसारको राजस्व सङ्कलन हुन नसकेपछि पालिकाले आन्तरिक रुपमा अघि सारेका कार्यक्रम समेत सम्पन्न गर्न सकेका छैनन् ।

स्थानीय तहले आफ्नै लक्ष्य पुरा नगर्दा कैयौं विकास निर्माणका योजना अलपत्र परेको अनुगमनमा भेटिएपछि चौथो जिल्ला भेलाले आय बढाउने निर्णय गर्नुपरेको छ ।

बागलुङ नगरपालिकाले चालु आर्थिक वर्ष २० करोड ७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेपनि वैशाख मसान्तसम्म पाँच करोड २० लाख रुपियाँ मात्र सङ्कलन गरेको छ । सो रकम लक्ष्यको २६ प्रतिशत मात्रै हो । जैमिनी नगरपालिकाले एक करोड ३६ लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य राख्दा ५७ लाख मात्रै सङ्कलन गरेको हो ।

एक करोड ६० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको बडिगाड गाउँपालिकाले ७८ लाख र तमानखोला गाउँपालिकाले ३६ लाख लक्ष्य राखेर २५ लाख रुपियाँ अर्थात् ६५ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेका हुन् । ढोरपाटन नगरपालिकाले दुई करोड १० लाख सङ्कलन गर्ने लक्ष्य राखेकोमा एक करोड २८ लाख अर्थात ६१ प्रतिशत, बरेङ गाउँपालिकाले ४० लाख लक्ष्यमा २३ लाख रुपियाँ मात्रै राजस्व सङ्कलन गरेको छ ।

यस्तै, गलकोट नगरपालिकाले दुई करोड १० लाख रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा एक करोड ३२ लाख मात्रै सङ्कलन गरेको छ भने काठेखोला गाउँपालिकाले ७७ लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा ६२ लाख सङ्कलन गरेको हो । जुन ८१ प्रतिशत हो । 

ताराखोला र निसीखोला गाउँपालिकाले मात्र लक्ष्य अनुसारको राजस्व सङ्कलन गरेका छन् । ताराखोलाले ६७ लाख रुपियाँको लक्ष्य राखेकोमा एक करोड ६ लाख रुपियाँ सङ्कलन गरेर एक सय ५९ प्रतिशत प्रगती गरेको छ । निसीखोलाले ५२ लाख ५० हजारको लक्ष्यमा वैशाख मसान्त सम्ममा ५३ लाख सङ्कलन गरेर एक सय एक प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले राजस्व बढाउन नसक्दा नगरपालिकाकै अगाडिको सडक समेत मर्मत गर्न कठिन भएको बताउनुभयो । कालीगण्डकी नदीको सामाग्री उत्खनन्को ठेक्का लगाउन नपाएपछि नगरपालिका राजस्व सङ्कलनमा पछि परेको उहाँको भनाइ थियो । विकासका काम अलपत्र परेपछि आगामी आर्थिक वर्ष भने लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्ने नगरपालिकाले योजना बनाएको छ ।