• ३१ जेठ २०८२, शनिबार

स्थानीय तहलाई विद्यालय हस्तान्तरण

blog

इस्मा गाउँपालिका–६, अमरपुरमा युनाइटेड वल्र्ड स्कुलले निर्माण गरेको वुल्म आधारभूत विद्यालय भवन । तस्बिर : टोपलाल अर्याल

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), जेठ ३० गते । यतिबेला गुल्मी पश्चिमका गाउँमा चिटिक्कका रातै विद्यालय भेटिन्छन् । उस्तै आकार र रङ भएका भवन भएकाले आकर्षक पनि छन् । २०७४ सालबाट जिल्लाको शैक्षिक विकासमा काम गरिरहेको युडब्लुएस नेपालले जिल्लाका सात पालिकामा २० विद्यालय निर्माण गरिसकेको छ । 

युडब्लुएस नेपाल एक गैरसरकारी संस्था हो । संस्थाले सम्झौताको पाँच वर्षपछि ती विद्यालय स्थानीय तहलाई हस्तान्तरण गर्ने सम्झौता गरेको छ । सोही सम्झौता अनुसार मुसीकोट नगरपालिकाको पशुपति निमावि, रेसुङ्गाको साउनेथुम आधारभूत विद्यालय, मदानेको पञ्चमीपोखरी प्रावि, मालिकाको सिद्ध प्रावि, धुर्कोटको देवीस्थान प्रावि र रामपोखरी प्रावि समुदाय र स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेको युडब्लुएस नेपालले जनाएको छ । 

युडब्लुएस नेपालका शिक्षा संयोजक अनुजप्रसाद सिग्देलले इस्मा गाउँपालिकाको पालुखा मावि र मालिकाको बरारुख आधारभूत विद्यालय पनि समुदाय र स्थानीय तहलाई हस्तान्तरण गर्न अहिले अनुगमन चलिरहेको जानकारी दिनुभयो । सिग्देलले युडब्लुएस नेपालले भौतिक पूर्वाधारसँगै विद्यार्थीलाई गन्न, पढ्न, लेख्न तथा सपना देख्न सक्षम बनाउनका लागि उत्प्रेरित गरिरहेको बताउनुभयो । भौगोलिक रूपले विकट गरिब तथा दलित एवं विपन्न बस्तीमा संस्थाले सहयोग गर्दै आएको छ । 

संस्थाले रेसुङ्गामा एक, मुसीकोटमा दुई, धुर्कोटमा चार, मदानेमा तीन, मालिकामा सात र इस्मा गाउँपालिकामा तीन विद्यालय भवन निर्माणसहित शैक्षिक क्रियाकलाप सञ्चालन गरेको छ । युडब्लुएस नेपालका निर्माण अधिकृत मेघराज खनालले अहिले क्षेत्र नं. १ को रुरुक्षेत्र गाउँपालिकामा भवन तथा शौचालय निर्माणको काम सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले प्रत्येक ठाउँमा माग र आवश्यकताका आधारमा पाँचदेखि ११ कोठासम्मको विद्यालय संरचना निर्माण गरी शैक्षिक कार्यक्रम सञ्चालन हुने गरेको बताउनुभयो । 

उहाँका अनुसार संस्था आफैँले आफ्नै कालिगडद्वारा विद्यालय संरचनासँगै शौचालय  निर्माण गर्छ । भौतिक संरचनाका लागि विद्यालय, स्थानीय समुदाय, स्थानीय सरकारसँग युडब्लुएस नेपालले साझेदारी गरेर भौतिक पूर्वाधार निर्माणका कार्यक्रम सञ्चालन गर्दछ । युडब्लुएस नेपालका राष्ट्रिय निर्देशक अभिनाश झाले सन् २०२५ देखि स्थानीय सरकारसँगको साझेदारीमा मालिका गाउँपालिकामा सात वटा विद्यालय र इस्मा गाउँपालिकामा १० वटा गरी कुल १७ वटा विद्यालयमा गुणस्तरीय शिक्षाका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको  जानकारी दिनुभयो । 

उहाँका अनुसार २०३० सम्ममा गुणस्तरीय  शिक्षाको प्रत्याभूति गराएर दुई पालिकालाई शून्य शैक्षिक गरिबी पालिका घोषणा गरिने छ । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले युडब्लुएस नेपालको शिक्षा क्षेत्रमा काम गर्ने मोडालिडी निकै उत्कृष्ट भएकाले आफूहरूले पनि सहकार्य थालेको बताउनुभयो । गुल्मीमा युडब्लुएस नेपाल ल्याउन पहल गर्ने गुल्मी क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्टले विकट गाउँमा विद्यालय सञ्चालन गरेर शैक्षिक विकासमा संस्थाले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।