काठमाडौँ, जेठ २९ गते । आजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरु प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो । घरछेउमा कञ्चन हिमनदी बग्थ्यो । युवाहरु बिहान उठ्ने वित्तिकै घरको आँगनमा रहेका हिउँका मोतीजस्तै टल्किने कणहरुसँग खेल्दै सफा गर्न लाग्थे । तर अब यो अनुभव एकदेशको कथा जस्तो भएको बताउनुहुन्छ, स्थानीय पासाङ तामाङ ।
आकाशमा बादल लाग्दा र एकैछिनको झरी पर्दा पनि हिउँ पर्ने अनुमान गर्ने स्थानीयको अहिलेको अनुमानले समेत काम गर्न छोडिसक्यो । अहिले लाङटाङ राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा हिउँ पर्ने कुनै ठेगान हुँदैन । २० वर्ष अघिसम्म हिमनदी (ग्लेसियर) बस्तीको नजिकैसम्म फैलिएको बताउनुहुन्छ, लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तामाङ ।
उहाँ भन्नुहुन्छ, ‘‘पहिले ग्ल्यासियर तलसम्म थियो, अहिले त हिमाल पग्लिएर माथिसम्म पुगेको छ । बर्खामा पहिरो भन्ने कुरा हुन्थेन, अहिले त कहिले आउँछ भन्ने नै थाहा हुँदैन । ट्रेक जान पनि डर लाग्ने अवस्था छ ।’’
जलवायु परिवर्तनको बढ्दो प्रभाव र विश्वतापमानमा भएको वृद्धिका कारण हिमालहरु सङ्कटमा परेको उहाँले सुनाउनुभयो । उहाँले तापक्रम बढेकै कारण हिमालमा कहिले पहिरो जाने भन्ने ठेगान नहुने हुँदा होशियार भएर हिँड्नुपर्ने बाध्यता रहेको बताउनुभयो । वि.स. २०७२ सालमा आएको बिनासकारी भूकम्प समेत जलवायु परिवर्तनकै कारण आएको हुनसक्ने पासाङको आशङ्का छ । उहाँले पर्यटन व्यवसायको उचित व्यवस्थापन हुन नसक्दा जलवायु परिवर्तनको असर बढिरेहको बताउनुभयो । हिमालका रेखाहरुसँगै पर्यटयन व्यवसाय पनि मेटिँदै जाने उहाँको चिन्ता छ ।
उहाँले भन्नुभयो, ‘‘ग्लोवल वार्मिङ र क्लाइमेट चेन्जका कारणले कतिखेर पहिरो आउँछ भनेर थाहा हुँदैन । सन् २०१५ गएको भूकम्प पनि क्लाइमेट चेन्ज र ग्लोवल वार्मिङका कारणले नै हो जस्तो लाग्छ । पर्यटन भनेको हामी लाङटाङवासीको पेसा नै हो तर अहिले पर्यटन व्यवसाय पनि समस्यामा पर्दै गएको छ ।’’
हिमरेखा सरेको देखेका स्थानीयको अनुभवले जलवायु परिवर्तनको प्रभाव हिमालमा कति परेको छ भन्ने प्रष्ट हुन्छ । बढ्दो औद्योगिकरण र पृथ्वीको तापमान दु्रत र अप्राकृतिक रुपमा बढेका कारण हिमालको जीवन सङ्कटमा पर्दै गएको छ । लाङटाङकै होटल व्यवसायी कान्छा तामाङले २० वर्षअघि एकमिटर उचाईसम्म हिउँले ढाक्ने गरेको अनुभव सुनाउनुभयो । पछिल्लो केही वर्षमा हिमरेखाहरु माथि जाँदै गरेको उहाँको भनाइ छ । यस क्षेत्रमा सञ्चालित होटल व्यवसाय व्यवस्थित नभएका कारण पनि पर्यावरणमा प्रतिकूल असर परेको उहाँको भनाइ छ । उहाँले सरकारले पर्यटकीय क्षेत्रमा सञ्चालित होटहरुका लागि उचित मापदण्ड बनाउन आवश्यक रहेको समेत बताउनुभयो । पर्यटकको सङ्ख्या बढेपनि सबैजसो स्थानीयहरु होटल व्यवसायमै लागेका कारण अपेक्षाकृत कमाई हुन छोडेको उहाँको अनुभव छ ।
उहाँले भन्नुभयो, ‘‘२० वर्ष अगाडि जमिनदेखि एक मिटरमाथिसम्म हिउँ पथ्र्यो । सानो घरहरुको त लेभलसम्म नै पुग्थ्यो । अहिले चाँही त्यस्तो छैन । अहिले त ग्लासियर पनि माथि माथि गयो । यसका कारण यहाँको होटल व्यवसाय पनि व्यवस्थित छैन । होटल व्यवसायीका लागि सरकारले कडा नियम लागू गर्न सकेन । क्लाइमेटलाई बिगार्ने काम हामी आफैं गरिरहेका छौँ । यहाँ पर्यटकलाई आकर्षित गर्नुभन्दा कुरेर बस्ने कामहरु हुन थाल्यो । सबैले एउटै काम गर्न थालेपछि अहिले आयस्रोत निकै घटेको छ ।’’
छेउछाउमा सेताम्मे हिमाल । बिचमा हिउँले सेतै ढाकिएको मानव बस्ती । घर जति छन् प्रायः सबै होटल हुन् । नेपालमा पदयात्रामा आउने पर्यटकको तेस्रो रोजाइमा पर्ने रसुवा जिल्लास्थित लाङटाङको क्यानजेन भ्याली पुग्ने आन्तरिक पर्यटकहरु बढे पनि भुइँभरी छरिएका फोहोर देखेर दिग्दार हुने गरेका छन् । यो क्षेत्रको फोहोर व्यवस्थापनमा स्थानीय सरकार र स्वयम् होटल व्यवसायीहरुले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा पर्यटकलाई निराश बनाउने गरेको छ । पयर्टकको सङ्ख्या बढेसँगै फोहोरको मात्रा पनि बढ्दा आगामी दिनमा पर्यटन व्यवसायमा नै असर पर्ने चिन्ता रहेको स्थानीय पासाङ लोप्छेङले बताउनुभयो । पहिले अलिकति भएको फोहोरलाई समेत माटोमा पुर्ने गरिएकोमा अहिले जलाउने भएका कारण यसले वायु प्रदूषण समेत बढाउँदै लगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पहिले त्यति पर्यटकहरु चल्दैन थियो । त्यसो हुँदा फोहोर पनि कम हुन्थ्यो । भएको फोहोर पनि पुर्ने गरेको थियो । अहिले त धेरे कुइरेहरु चल्छ । धेरै भएको फोहोरहरु पोल्ने गरेका कारण धुवाले पर्यावरणमा नकारात्मक असर पर्दै गएको छ । पहिलेभन्दा अहिले निकै परिवर्तन भएको छ । पहिले गर्मीमा पनि एकदमै जाडो हुन्थ्यो अहिले त गर्मी हुन थालेको छ ।’’
लाङटाङमा जलवायु परिवर्तनका प्रभावहरू भौगोलिक, आर्थिक, र सामाजिक सबै क्षेत्रमा देखिन थालेका छन् । हिमनदीहरू खुम्चिँदै गएका छन् भने पहिरो र अनियमित मौसमी घटना बढिरहेका छन् । हिमालको रेखामाथि सर्ने क्रमसँगै गाउँको व्यवसाय र युवा पलायल पनि हुँदै गएको छ । सरकारले हिमालको मुद्दामा विश्व समुदायलाई सचेत गराउन भन्दै समय समयमा सभा र सम्मेलन गर्ने भएपनि प्रभावितहरुलाई सहभागि नगराउँदा ति सभाहरु औचित्यहिन बन्दै गएका छन् ।