जीवछ यादव
लहान, जेठ २८ गते । कञ्चनपुर–कमला सडक योजना पश्चिम खण्डको प्रगति अहिलेसम्म ६३ प्रतिशत काम सम्पन्न भएको छ । सडक विकास कार्यालय मिर्चैंयाका अनुसार शतप्रतिशत काम सम्पन्न गर्न दोस्रो पटक २०८२ पुस १६ गतेसम्म म्याद थपिएको छ ।
पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर–कमला सडक खण्डअन्तर्गत सप्तरीको कुशहादेखि सिरहाको कमलासम्मको ४७.४१ किलोमिटर सडकलाई चार लेन र बजार क्षेत्रमा छ लेनमा कालोपत्रे विस्तार गर्ने काम भइरहेको पश्चिमी खण्डका इन्जिनियर तथा सूचना अधिकारी सरोजकुमार कोइरालाले जानकारी दिनुभयो ।
उहाँको अनुसार यस खण्डमा २५ वटा पुल निर्माण कार्य सम्पन्न भइ ३४.०४ किलोमिटर दायाँ र २५.९७ किलोमिटर दायाँ कालोपत्र सम्पन्न भइसकेको छ । मिर्चैंयाको ओभरपासको फाउन्डेशन पूरा भइसकेको लहानको तीनवटा अन्डरपास एब्युटमेन्ट निर्माण सम्पन्न भइ लहानको २६ वटा पाइल फाउन्डेशनमध्ये १६ वटा सम्पन्न भएको छ ।
वर्षाअघि चोहर्वा खण्डको बाँया लेन कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको, बन्दीपुर बजारको दायाँ लेन कालोपत्रे सम्पन्न गर्ने लक्ष्यअनुसार नौसय मिटरमा बेस बिछाउने काम सम्पन्न भएको छ । पाँचसय मिटरमा पर्खाल लगाउने कार्य भइरहेको लहान बजारको बायाँतर्फको नाली जोडने काम सम्पन्न भएको बताइएको छ ।
दायाँतर्फको नाली वर्षाअघि जडान गर्ने योजनाअनुसार काम भइरहेको सूचना अधिकारी कोइरालले बताउनुभयो । खानेपानीको पाइप व्यवस्थापन र विजुलीको खम्वा हटाउने कार्यमा समयमा हुन नसक्दा कार्य सोचेअनुसार गति लिन नसकेको सूचना अधिकारी कोइरालाले बताउनुभयो । लहानको सहिद पार्कको व्यवस्थापन र नदीजन्य पदार्थको अभावले पनि समस्या भएको जानकारी दिनुभयो ।
कञ्चनपुर कमला चार लेन सडक योजना पूर्व र पश्चिमी खण्ड गरी ८६.८३ किलोमिटर रहेको छ । पन्ध्र अर्ब ६६ करोडमा टेण्डर गरेर २०७७ कात्तिक १३ गते सुरु भएर दुई पटक म्याद थपेर २०८२ पुस १६ गतेमा सम्पन्न गर्नेगरी काम भइरहेको बताइएको छ ।
सिरहा सप्तरी दुबै खण्डको प्रगति विवरण समग्रमा ६२ प्रतिशत पुगेको निर्माणकर्ताहरुको भनाइ छ । त्यसैगरी पश्चिमी खण्डको प्रगति ६३ प्रतिशत छ ।