• ३१ जेठ २०८२, शनिबार

सुनसान भए हिमालका काख

blog

वसन्तयामको आरोहण सकिएसँगै विभिन्न हिमालका आधार शिविर सुनसान बनेका छन् । तस्बिर : पर्यटन विभाग

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ३० गते । हिमाल आरोहणको मुख्य बेला मानिने वसन्तयामको आरोहण सकिएसँगै विभिन्न हिमालका आधार शिविर सुनसान बनेका छन् । सगरमाथा, ल्होत्से, नुप्त्से, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घालगायतका हिमाल आरोहण गर्न गएका टोली फर्केपछि आधार शिविर यतिबेला सुनसान बनेका हुन् ।

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न जाने आरोही सबैभन्दा बढी हुने गरेका छन् । मे महिनाको २९ भित्र सगरमाथामा आरोहण पूरा गरिसक्नु पर्छ । त्यस्तै गरी जुन महिनाको पहिलो तारिखभित्र आधार शिविर खाली गरिसक्नुपर्ने भएकाले करिब तीन महिना पर्वतारोही र हेलिकोप्टरको ओहोरदोहोरले बजार जस्तै चलायमान बनेको आधार शिविरमा सन्नाटा छाएको छ ।

विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “यो वर्षको आरोहण सकिएसँगै करिब तीन महिना शिविर खडा गरी बसेका आरोही फर्किसकेका छन् । अहिले सगरमाथा प्रदूषण नियन्त्रण समितिका पदाधिकारीले आधार शिविरको सरसफाइ गरिरहेका छन् । त्यस्तै आरोहीका लागि तयार पारिएका संरचना सार्ने काम सकिएको छ ।”

जेठ महिना सुरु भएसँगै हिमालमा तापक्रम बढेर हिमपहिरो आउने र हिउँ पग्लने भएका कारण सुरक्षाको दृष्टिकोणले अन्य हिमालका आधार शिविरबाट समेत मानवपाइला फर्किसकेको उहाँले जानकारी दिनुभयो ।

यो वर्ष कति जनाले सफल आरोहण गरे भन्ने तथ्याङ्क आउन केही समय लाग्ने भए पनि शेर्पा, सहयोगी र आरोही गरेर करिब ६९४ जनाले सगरमाथा आरोहण पूरा गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष आरोहण पूरा गरेका आरोहीको यकिन सङ्ख्या कम्पनीहरूले गर्ने ब्रिफिङपछि मात्र निश्चित हुन्छ । अहिले आरोही, आरोहण दलका सदस्य, आरोहण कम्पनीबाट अनलाइन ब्रिफिङ र डी ब्रिफिङको काम जारी छ ।”

डी ब्रिफिङका क्रममा आरोहणमा गएका दल सम्बद्ध एजेन्सीले आरोहणका गतिविधि समेटेर सफल/असफल आरोहीको विवरणसहितको प्रतिवेदन विभागमा पेस गर्ने गरेको र सम्बन्धित आरोहण दलको सम्पर्क अधिकृत अनिवार्य उपस्थित भई आफू खटिई गएको दलबारे पेस गर्ने विवरणको आधारमा आरोहण प्रमाणपत्र जारी भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

यस पटक सगरमाथासहित २७ हिमाल आरोहण गर्न एक हजार १६८ जनाले अनुमति लिएका थिए, जसमध्ये सगरमाथा आरोहण गर्न मात्रै नेपालसहित ५७ देशका ४६८ आरोहीले अनुमति लिएका थिए । अघिल्लो वर्षको यही याममा सगरमाथा आरोहण गर्न ४५ आरोही समूहका ४२१ जनाले अनुमति लिएका थिए । विभागका अनुसार यस वर्ष आरोहणका क्रममा विभिन्न हिमालमा सात जनाले ज्यान गुमाए भने दुई जना अझै सम्पर्कविहीन छन् ।