ज्ञानु पंगेनी
मध्यविन्दु जेठ २८ गते । नवलपरासी पूर्व (नवलपुरको) कावासोती नगरपालिकाले वडा नम्बर चारबाट भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण सुरु गरेको छ ।
बुधवार कावासोती–४ मा एक कार्यक्रम गरेर २५ घर परिवारलाई लालपुर्जा वितरण गरिएको हो । प्रतिनिधि सभाका पूर्व सांसद तिलक महतबाट जग्गाधनी पुर्जा वितरण गरिएको थियो । भूमिहीन दलित र सुकुम्वासीलाई पुर्जा वितरण गर्दै पूर्व सांसद वर्षौँदेखि भूमिहीन भएर बस्दै आएकाहरूले अब आफ्नो अधिकार प्राप्त गर्न थालेको भन्दै जिल्लामा बाँकी रहेका अन्य भूमिहीन दलित र भूमिहीन सुकुम्वासी र अव्यवस्थित बोसवासीलाई आयोगले काममा तीव्रता दिनुपर्ने बताउनुभयो ।
लामो समय देखी जोत भोग गर्दै आएको जग्गाको पुर्जा पाएपछि स्थानीय खड्ग बहादुर गुरुङ निकै खुसी हुनुहुन्छ । गुरुङले जग्गाधनी पुर्जा नहुँदा धेरै समस्या भोगेको सुनाउँदै अब भने पुर्जा हात परेपछि सजिलो हुने बताउनुभयो । ‘भएको थोरै घडेरीको पनि पुर्जा नहुँदा सधैँ सुकुम्वासी भएर जीवन जाने भो भन्ने पिर लाग्थ्यो , कोही कसैले सोध्दा पनि सुकुम्वासी हो भन्दा नराम्रो लाग्थ्यो अब भने त्यस्तो हुँदैन धेरै खुसी छु । ’ गुरुङले भन्नुभयो
लामो समयदेखि सुकुम्वासी जग्गामा बसोबास गर्दै आउनुभएका अमृत विकले वर्षौँदेखि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा आफ्नो नाममा प्राप्त भएपछि धेरै खुसी लागेको बताउनुभयो । ‘कुनै पनि काम गर्न वा दुख बिरामी पर्दा धितो राखेर ऋण निकालौँ अथवा केही बेचेर काम गरौँ न भन्दा पनि नपाइने , घर बनाएर ढुक्कसँग बस्न पनि नपाइने , अब त पुर्जा हात परेको छ म धेरै खुसी छु । ’ विकले भन्नुभयो ।
वडामा भूमिहीन बासिन्दालाई जग्गाको मालिक बनाउने कार्यमा वडा अध्यक्षका रूपमा सहजीकरण गर्न पाउँदा धेरै खुसी लागेको वडा अध्यक्ष नारायण प्रसाद लोहनीले बताउनुभयो । वडामा छिट्टै अव्यवस्थित बोसवासीलाई पनि पुर्जा वितरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका पूर्व सांसद विष्णुप्रसाद लामिछानेले लालपुर्जा वितरण कार्यक्रममा बोल्दै आयोग र नगरपालिकाले कावासोतीबाट पुर्जा वितरण सुरु गरेर अन्य पालिकालाई समेत सन्देश दिएको बताउनुभयो । नगरपालिका र वडाहरूले सक्रिय नभएसम्म आयोग एक्लैले काम गर्न नसक्ने भएकाले कावासोती नगरपालिका र वडा नम्बर ४ ले सबैलाई काम छिटो गर्न प्रेरित गरेको उहाँको भनाइ थियो ।
नगर प्रमुख विष्णुप्रसाद भुसालले लालपुर्जा वितरण प्रक्रियामा केही झन्झटिलो रहेकाले त्यसलाई सरल बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
कावासोती नगरपालिका भित्र हालसम्म भूमिहीन दलित ६९७, भूमिहीन सुकुम्वासी १,२४० र अव्यवस्थित बसोवासी ५,५९६ जनाले फारम भरेको प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले जानकारी दिनुभयो । पालिकाले आफ्नो स्तरबाट पुर्जा वितरणको लागि कार्यहरू क्रमशः अगाडी बढाउँदै लगेको उहाँले बताउनुभयो ।
पुर्जा प्राप्त गरेपछि स्थानीय बासिन्दाहरूले पञ्चेबाजा बजाएर उत्सव मनाएका थिए ।