• ३० जेठ २०८२, शुक्रबार

शुक्लाफाँटामा चार वटा खरमुजुर फेला

blog

शुक्लाफाँटामा उडिरहेको खरमुजुर । तस्बिर: महानन्द जोशी

अविनाश चौधरी

धनगढी, जेठ २८ गते । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यसवर्ष चार वटा खरमुजुर अभिलेख गरिएको छ ।  

गत वैशाखमा गरिएको गणनाको क्रममा तीन भाले र एक पोथी गरी चार खरमुजुर भेटिएका हुन । निकुञ्ज कार्यालयसंगको सहकार्यमा नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) ले हरेक वर्ष खरमुजुरको गणना गर्दै आएको छ । 

यसवर्ष गरिएको गणनाको क्रममा गतवर्षभन्दा कम सङ्ख्यामा खरमुजुर पाइएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताउनुभयो । उहाँले यो बेला प्रजनन समय रहेका कारण भालेपोथी एक साथ रहने गरेकाले कम्तीमा पनि छ वटासम्म खरमुजुर निकुञ्जमा रहेको अनुमान गरेको उल्लेख गर्नुभयो। 

गतवर्ष तीन भाले र दुई पोथी गरी पाँच वटा खरमुजुर शुक्लाफाँटामा अभिलेख भएका थिए । यसवर्ष एकवटा पोथी फेला नपरेको जनाइएको छ । अतिसङ्कटापन्न खरमुजुरको सङ्ख्या घट्दै जानू चिन्ताको विषय रहेको बताइएको छ । खरमुजुर संरक्षणको कार्यलाई अझ व्यापक बनाउन आवश्यक रहेको चराविद् हिरुलाल डङ्गौराले औंल्याउनुभयो ।