राजन रावत
हुम्ला, जेठ २८ गते । नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको बन जंङ्गलमा पशु वस्तु चराउन र जडीबुटी सङ्कलन गर्न रोक लगाइएको छ । वडा भित्रको बन क्षेत्रको प्राकृतिक सम्पदा, जडीबुटी र बास्पतीको संरक्षण र व्यवस्थापनका लागि सो कार्य गर्न रोक लगाइएको हो ।
वडा बाहिरका मानिसहरू आएर जथाभाबी जडीबुटी सङ्कलन गर्ने, बनमा पशु बस्तु चराउने, बन जङ्गलको नास हुने क्रम बढेपछि वडाबाट निर्णय गरेर आफ्नो क्षेत्र भित्रको बन जंङ्गलमा पशु बस्तु चराउन, जडिबुटी सङ्कलन गर्न रोक लगाउने कार्य गरिएको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।
बनमा भेडा बाख्रा चौँरी लगायतका पशु बस्तु चराउन बन्द गरिएको छ भने वन क्षेत्र, जडीबुटी उत्पादन हुने स्थान तथा संरक्षित क्षेत्रहरूमा भेडा बाख्रा र चौँरी चराउन वडा बाहेकका अन्य सबैका लागि पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ । त्यसै गरि वडाले जडीबुटी सङ्कलन र खनिज कार्यमा पनि रोक लगाइएको उहाँले बताउनुभयो ।
त्यसैसरि जेठ २८ गतेबाट तीन वर्षसम्मका लागि जडीबुटी सङ्कलन गर्ने, टिप्ने खन्ने वा ब्यापारिक प्रयोजनका लागि लैजाने कार्यमा पनि रोक लगाइएको छ । यो निर्णय उलङ्घन गर्ने जो कोही पनि प्रचलित कानुन अनुसार कारबाही गरिने वडा अध्यक्ष तामाङले बताउनुभयो ।
यो निर्णय बन सम्पदा संरक्षण, वातावरणीय सन्तुलन कायम राख्न तथा स्थानीय जैविक बिबिधता जोगाउन गरिएको हो । लिमीका स्थानीय यो काम नगर्ने तर बाहिरबाट आएका बासिन्दाहरूले भने जथाभाबी गर्ने भएको कारण रोकथाम गर्न यो प्रयास गरिएको हो ।