• ३० जेठ २०८२, शुक्रबार

केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड सुरु, एथलेटिक्समा दुई कीर्तिमान

blog

काठमाडौँ, जेठ २८ गते । १५औँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।प्रतियोगिताको पहिलो दिन एथलेटिक्समा दुई वटा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा दशरथ रङ्गशालामा सञ्चालित प्रतियोगितामा बागमती प्रदेशका प्रवीण रानामगरले छात्र एक सय मिटर दौड तथा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा चार सय मिटर दौडमा कीर्तिमान बनाउनु भएको छ । 


प्रवीणले निर्धारित दूरी १०.७६ सेकेन्डमा पूरा गर्दै आशिष चौधरीले २०७० सालमा बनाउनुभएको १०.९० सेकेन्डको कीर्तिमान भङ्ग गर्नुभयो ।

यस्तै संगीता विकले निर्धारित दूरी एक  मिनेट ०१.१९ सेकेन्डमा पूरा गरी २०७६ सालमा अरुणा रिजालले स्थापित गर्नुभएको एक मिनेट ०१.३० सेकेन्डको कीर्तिमान तोड्नु भयो । 

जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बुधबार सँझ राष्ट्पति रामचन्द्र पौडेलले औपचारिक उद्घाटन गर्नुहुनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेल समावेश गरिएको छ । 

प्रत्येक प्रदेशबाट समान ४९ छात्रा र छात्र गरी ९८ सहित कूल ६८६ जान खेलाडी सहभागी हुनेछन् । एथलेटिक्स र उसु दशरथ रङ्गशाला, कराते र तेक्वान्दो सातदोवाटो र कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने राखेपले जनाएको छ ।