रमेश विश्वकर्मा
गुल्मी, जेठ २८ गते । गुल्मीको पश्चिमी ग्रामीण भेग अग्लुङ्गमा रैथाने गाईको संरक्षण गर्न गाईपालक किसानलाई भत्ता प्रदान गरिएको छ । मदाने गाउँपालिका-१, अग्लुङ्गमा स्थानीय जातको रैथाने गाई संरक्षण गर्न घरमा पालेको गाई सुत्केरी हुँदा किसानलाई प्रोत्साहनका लागि प्रसूति स्याहार भत्ता प्रदान गरिएको वडा अध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो ।
स्थानीय गाई लोप हुन लागेको भन्दै यहाँका पाका पुस्ताबाट निकै चासोका साथ गुनासो आएसँगै वडाले रैथाने गाई संरक्षणका लागि चालू आर्थिक वर्ष २०८१-०८२ मा बजेटको समेत व्यवस्था गरेको थियो । सोही अनुसार यहाँका ३० जना गाईपालक किसानलाई जनही दुई हजार ५०० रुपियाँका दरले प्रसूति स्याहार भत्ता उपलब्ध गराइएको उहाँले बताउनुभयो । अग्लुङ्गभित्रका किसानहरुले पालेका स्थानीय गाई संरक्षण गर्न गाई सुत्केरी हुँदा भत्ता प्रदान गर्नुका साथै किसानलाई प्रोत्साहन गर्नका लागि वडाले यो कार्यक्रम ल्याएको अध्यक्ष चन्दको भनाइ छ।
त्यस्तै, आर्थिक र सांस्कृतिक महत्व बोकेका रैथाने गाई लोप हुनबाट जोगाउनका लागि वडाले गाई संरक्षण गर्न विशेष कार्यक्रम ल्याएको हो। गाउँमा स्थानीय गाई पाल्ने किसानहरु नहुँदा स्थानीय गाई लोप हुने अवस्थामा पुग्न थालेका छन्। गाईको दूध, मुत्र ९गहुँत० र गोबर विभिन्न धार्मिक कार्यक्रमहरुमा चाहिने हुँदा गाउँघरमा रैथाने गाई नै पाल्न छाडेपछि धर्म संस्कृति समेत लोप हुँदै जाने भन्दै वडाले यस्तो निर्णय गरेको उहाँले बताउनुभयो।