• २९ जेठ २०८२, बिहिबार

स्क्वासको महिला टिम इभेन्टमा बागमतीलाई उपाधि

blog

काठमाडौँ, जेठ २८ गते । १३औँ एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगताको महिला टिम इभेन्टको उपाधि बागमती प्रदेशले जितेको छ ।

नेपालका नम्बर एक विपना ब्लोन र नम्बर दुई स्वस्थानी श्रेष्ठ सामेल बागमती कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई समान ३–० ले हराउँदै उपाधि जितेको हो । 

चार प्रदेश सहभागी  टिम इभेन्टमा सबैले एकअर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने टिमले उपाधि जित्ने प्रावधान रहेको छ । 

कोशी प्रदेशविरुद्धका खेलमा बागमतीका लागि स्वस्थानीले डोल्मा तामाङलाई ११–८, ११–५ र ११–४, विपनाले रचना प्रजालाई ११–४, ११–५ र ११–४ तथा अस्मिता नगरकोटीले तारादेवी गुरुङलाई ११–३, ११–१ र ११–२ ले पराजित गर्नुभयो । 

यसैगरी गण्डकीविरुद्ध तिन खेल जित्ने क्रममा स्वस्थनीले रेसना महर्जनलाई ११–३, ११–५ र ११–३, विपनाले समीक्षा खाँडलाई ११–२, ११–२ र ११–५ तथा अस्मिताले नियुक्ती श्रेष्ठलाई ११–१, ११–५ र ११–६ ले हराउनुभयो । 

कर्णालीविरुद्धको खेलमा स्वस्थानीले भगवती जिसीलाई ११–२, ११–१ र ११–३, विपनाले प्रतीक्षा प्रजालाई ११–३, ११–५ र ११–५ तथा साक्षी सुनुवारले अर्पणा प्रजालाई ६–११, ११–७, ११–६ र ११–३ ले निराश बनाउनुभयो । 

यसैगरी गण्डकी प्रदेशले कोशी प्रदेशलाई २–१ ले हरायो । गण्डकीका लागि नियुक्तीले कृषा राईलाई ११–२, ११–१ र ११–३ तथा रेनेशाले डोल्मालाई १५–१३, ११–४ र ११–२ ले पराजित गर्नुभयो । कोशीकी रचनाले भने गण्डकीकी समीक्षालाई ११–७, १२–११ र १४–१२ ले हराउनुभएका हो । 

नेपाल स्क्वास र्याकेट्स सङ्घको आयोजनामा जारी प्रतियोगितामा पुरुष टिम इभेन्टमा बागमती प्रदेश र कोशी प्रदेश फाइनलमा पुगेका छन् । 

सेमिफाइनलमा बागमतीले मधेश प्रदेश र कोशीले प्रदेशले लुम्बिनी प्रदेशलाई समान २–१ ले हरायो । बागमतीका लागि राकेश परियार र प्रज्वल प्रधानले जित हात पार्नुभयो ।