• २९ जेठ २०८२, बिहिबार

राससमा तामाङ भाषाको समाचार सेवा सुरु गरिने

blog

काठमाडौँ, जेठ २८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)बाट  तामाङ भाषाको समाचार सेवा सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  

तामाङ पत्रकार सङ्घले राससमा तामाङ भाषाको समाचार सेवा सुरु गर्न मागसहित आज ज्ञापनपत्र बुझाएको थियो ।

 ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले राससमा तामाङ भाषामा समाचार सेवा सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको हो । “ढिलो चाँडो तामाङ भाषामा समाचार सेवा राससमा सुरु गर्छौँ”, मन्त्री गुरुङले भन्नुभयो ।

राससमा हालसम्म नेपाली, अङ्ग्रेजी, नेपाल र मैथिली भाषामा समाचार सेवा प्रदान हुँदै आएको छ । सङ्घका अध्यक्ष नेत्र तामाङसहितको टोलीले मन्त्री गुरुङलाई भेट गरी ज्ञापनपत्र बुझाएको थियो । 

बागमती प्रदेश सरकारले तामाङ भाषालाई बागमती प्रदेशको कामकाजी भाषा घोषणा गरेको एक वर्ष पूरा भइसकेको छ । 

नेपालको जनगणना २०७८ अनुसार नेपालमा तामाङ भाषा बोल्नेहरूको सङ्ख्या १४ लाख २३ हजार बढी छन् । शिक्षा, सञ्चार क्षेत्रमा यसको प्रयोग कम हुँदै गएकाले तामाङ भाषा बोल्नेको सङ्ख्या घट्दो छ । रासस