आकृति ठाकुर
कक्षाः १०, टङ्गाल मावि
टङ्गाल, काठमाडौँ
सामाजिक सञ्जाल भन्नाले ती डिजिटल ‘प्ल्याटफर्म’ हुन् जुन इन्टरनेटको प्रयोगद्वारा व्यक्तिले आफ्नो विचार अभिव्यक्त गर्न, सूचना आदानप्रदान गर्न, व्यवसाय प्रवर्धन गर्न तथा साथीभाइसँग जोडिन सहयोग गर्दछ । यो विज्ञान र प्रविधिको विकासका महìवपूर्ण उपहार हो । पहिले सामाजिक सञ्जाल साथीभाइसँग मात्र जोडिन प्रयोग गरिन्थ्यो तर समय र विज्ञान तथा प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दायरा फैलिएको छ । सामाजिक सञ्जाल सञ्चार प्रविधिको मेरुदण्ड बन्न पुगेको छ ।
सामाजिक सञ्जालले सञ्चारको क्षेत्रमा महìवपूर्ण भूमिका निर्वाह गरेको छ । सामाजिक सञ्जालले व्यक्तिलाई सूचना आदानप्रदान गर्न, विचार अभिव्यक्त गर्न, मनोरञ्जन प्रदान गर्न, शिक्षामा क्रान्ति गर्न पनि सहयोग गर्दछ । अचेल सामाजिक सञ्जालको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । सामाजिक सञ्जालले सामाजिक, आर्थिक, मनोवैज्ञानिक, स्वास्थ्य, सञ्चार आदि सबै क्षेत्रमा महìवपूर्ण भूमिका निर्वाह गरेको छ ।
सामाजिक सञ्जालको माध्यमबाट अचेल शिक्षक तथा विद्यार्थीले शिक्षामा क्रान्ति ल्याउन सकेका छन् । विद्यार्थीले पनि विभिन्न प्ल्याटफर्म, जस्तैः क्लास रुम, गुगल, कोर्सेरा आदिबाट शिक्षा प्राप्त गर्न सकेका छन् । शिक्षकले पनि इन्टरनेटको प्रयोग गरेर विभिन्न नयाँ नयाँ तरिका अपनाइ विद्यार्थीलाई सहज तरिकाले शिक्षा प्रदान गर्न सकेका छन् । महामारीको बेलामा पनि सामाजिक सञ्जालले विश्वभरका मानिसलाई विभिन्न क्षेत्र, जस्तैः शिक्षा, स्वास्थ्य, मनोरञ्जन, बैङ्किङ, मार्केटिङ आदिमा सहयोग पु¥याएको थियो । सामाजिक सञ्जालका माध्यमबाट हामीले सामाजिक तथा सांस्कृतिक अभियान सञ्चालन गरी जनसचेतना फैलाउन सक्छौँ ।
टिकटक, फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, स्न्यापच्याट, स्पोटिफाइ, टेलिग्राम आदि सामाजिक सञ्जालका मुख्य एप हुन् । सामाजिक सञ्जालका माध्यमबाटै हामी करोडौँ कदम टाढा रहेका व्यक्तिसँग एकपलमै जोडिन सक्छौँ । विभिन्न सामाजिक सञ्जालका एप्सका माध्यमबाट मनोरञ्जनका साथसाथै आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्छौँ । सामाजिक सञ्जालका माध्यमबाट हामीले विभिन्न तरिका अपनाइ विभिन्न रोग तथा सामाजिक द्वेषविरुद्ध अभियान सञ्चालन गर्न सक्छौँ । इन्टरनेटको प्रयोग र सामाजिक सञ्जालको एप्सका कारण आज अनलाइन व्यापार प्रवर्धन भएको छ । हामीले घर बसी बसी नै सामान किन्न वा बेच्न पनि सक्ने भएका छौँ ।
सामाजिक सञ्जालले विश्वलाई नै एउटा सानो गाउँ बनाएको छ । जहाँ हामीले विश्वका कुनै पनि कुनामा रहेका मानिससँग जोडिन सक्छौँ । सामाजिक सञ्जालमा हामीले आफ्नो कला तथा खुबी प्रस्तुत गर्न सकेका छौँ । यसबाट आम्दानी पनि आर्जन गर्न सकेका छौँ । सामाजिक सञ्जालमा राम्रा राम्रा क्षेत्रका बारेमा अपलोड गरेर पर्यटन व्यवसाय पनि विकास गर्न सक्छौँ । सामाजिक सञ्जालमा विभिन्न कला, संस्कृति, वेशभूषा, भाषा आदिको जानकारी अपलोड गरी आफ्नो संस्कृतिको चर्चा तथा विकास गर्न सकिन्छ ।
सामाजिक सञ्जालका माध्यमबाट हामीले विभिन्न सिप सिक्न सक्छौँ र त्यसलाई आफ्नो व्यक्तिगत जीवनमा रचनात्मक तरिकाले परिचालन गर्न सक्छौँ । हामीले सामाजिक सञ्जालमा आफूले जानेको कुराको सिप अरूलाई पनि सिकाउन सक्छौँ । सामाजिक सञ्जालका माध्यमबाट हामीले योग, ध्यान तथा व्यक्तिगत व्यवहारमा परिवर्तन ल्याउन सक्छौँ । सामाजिक सञ्जालमा उपलब्ध विभिन्न वेबसाइट तथा भिडियोमार्फत हामीले आफ्नो व्यक्तित्वमा परिवर्तन ल्याउन सक्छौँ ।
कुनै पनि कुराको सकारात्मक तथा नकारात्मक पक्ष दुवै भए झैँ सामाजिक सञ्जालको पनि विभिन्न नकारात्मक पक्ष छन् । सामाजिक सञ्जालका नकारात्मक पक्षले पनि सीमा नाघ्न पुगेको छ । सामाजिक सञ्जालमार्फत विभिन्न नकारात्मक घटना हुने गर्दछ, जस्तैः बौद्धिक चोरी हुनु, गोपनीयता भङ्ग हुनु, एक्लोपन हुनु, डिप्रेसन हुनु, आत्मसम्मानमा गिरावट हुनु, बुलिङ हुनु, साइबर अपराध बढ्नु आदि । बौद्धिक चोरी भनेको सामान चोरी गर्नु नभई सिर्जना चोरी गर्नु भन्ने बुझिन्छ । सामाजिक सञ्जालमार्फत गोपनीयता भङ्ग हुने समस्या पनि उत्तिकै छ ।
सामाजिक सञ्जालका माध्यमबाट साइबर अपराधको मात्रा दिनप्रतिदिन बढ्दै गएको छ । अत्यधिक सामाजिक सञ्जालको प्रयोगले व्यक्तिलाई तनाव निम्त्याइ मानसिक रोगी पनि बनाउँछ । व्यक्तिको मानसिक तथा भौतिक स्वास्थ्यमा नकारात्मक असर पार्दछ । व्यक्तिको आत्मबल कमजोर पार्ने, अल्छी बनाउने जस्ता समस्या देखा पर्न सक्छ । सामाजिक सञ्जालको अत्यधिक प्रयोगले संवेगमा परिवर्तन निम्त्याइ विभिन्न सम्बन्धमा खटपट पनि निम्त्याउँछ ।
नकारात्मक पक्षको चपेटामा नपर्नका लागि सर्वप्रथम हामीले सामाजिक सञ्जालको प्रयोग निश्चित समय वा कामका लागि मात्र प्रयोग गर्नु पर्छ । उचित र आवश्यक कार्यका लागि मात्र सामाजिक सञ्जालको प्रयोग गर्नु पर्छ । सामाजिक सञ्जालको कुलतबाट बच्न यसको अत्यधिक प्रयोग गर्नु हुँदैन । सामाजिक सञ्जालमा उपलब्ध सबै कुराको प्रशस्त मात्रामा फाइदा लिँदा लिँदै हालको पुस्ताका विद्यार्थीमा आफ्नो मौलिकतामा कमी हुनु मुख्य समस्याका रूपमा देखा परेको छ । सामाजिक सञ्जालमार्फत झुटो खबर पनि फैलाउने प्रवृत्ति छ । यस्ता झुटा कुराबाट बच्नका लागि त्यस जानकारीको चेकजाँच गर्नु पर्छ । सामाजिक सञ्जालमार्फत घटना हुन नदिन विभिन्न नीति नियमको पालना गर्नुपर्ने आवश्यकता देखिन्छ । यसका निम्ति सरकारले पनि विभिन्न कानुन तथा ऐनको निर्माणदेखि कार्यान्वयनसम्मका कुरा गर्नु पर्छ । व्यक्ति स्वयं पनि सचेत रहनु पर्छ ।
विज्ञान र प्रविधिको विकासको महìवपूर्ण उपहार हो, सामाजिक सञ्जाल । सामाजिक सञ्जालका सकारात्मक तथा नकारात्मक पक्षका बारेमा ध्यान दिँदै सकारात्मक पक्षबाट फाइदा लिन सक्नु पर्छ । व्यक्ति स्वयं पनि सचेत रहनु आवश्यक छ । यसको उचित प्रयोग गरौँ ।
(काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयले फागुनमा आयोजना गरेको कमला निबन्ध प्रतियोगितामा प्रथम स्थान प्राप्त ।)