• २९ जेठ २०८२, बिहिबार

धरहरा चढ्दाको रमाइलो

blog

गएको महिना म र बाबा धरहरा चढेका थियौँ । यो काठमाडौँको केन्द्र मानिने सुन्धारामा रहेको छ । नेपालमा मानवनिर्मित सबैभन्दा अग्लो संरचना नै धरहरा हो । धरहराको परिसरमा फराकिलो भूमिगत पार्किङ स्थल छ । सायद यो नेपालमै जमिनमुनि बनाएको सबैभन्दा फराकिलो पार्किङ स्थल पनि हो । 

शिलालेख अनुसार दुई सय वर्ष पहिला अर्थात् विसं १८८२ मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाले धरहरा बनाउन लगाएका थिए । त्यसैले यसलाई भीमसेन स्तम्भ पनि भनिन्छ । त्यतिबेला ६१.८८ मिटर अग्लो धरहरामा ११ तला थियो । त्यो धरहरा विसं १९९० को भूकम्पले भत्किएको थियो । पछि पुनर्निर्माण गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले त्यसलाई भत्काइदियो । अहिले त त्यो पुरानो धरहराको अवशेष देख्न पाइन्छ । 

हामी जन्मिएको समयमा नयाँ धरहरा बनाइएको रहेछ । पहिले त यति फराकिलो थिएनन् रे । अहिले त २४ रोपनीमा फैलिएको रहेछ । नयाँ धरहरा निर्माण गर्दा नेपाल राष्ट्र बैँकको सिक्का छाप्ने टक्सार विभाग र हुलाक कार्यालयलाई त्यहाँबाट हटाइएको रहेछ । नयाँ धरहराको उचाइ पनि ८२ मिटर छ । धेरै सिँढी भएकाले चढ्न पनि थकाइ लाग्ने रहेछ । अशक्तका लागि लिफ्टको व्यवस्था भए पनि यो चलेको छैन ।

२० औँ तलामा बार्दली छ जहाँबाट काठमाडौँ सहरलाई अवलोकन गर्न पाइन्छ । चारैतिर घुमेर हेर्न मिल्ने बार्दली छ । २० औँ तलामा रहेको बार्दलीबाट हेर्दा सारै रमाइलो लाग्छ । सुरक्षाका लागि ठुला अग्ला सिसाको छेकबार लगाएको छ । पुरानो धरहरामा शुल्क तिरेर चढ्न पाइन्थ्यो रे । सुरुमा छेकबार लगाइएको थिएन रे । एउटा मानिसले हामफालेपछि छेकबार लगाइएको थियो रे । 

म त पहाडमा हुर्किएकी हुँ । पहाडबाट तल हेरे जस्तो लाग्यो तर केही मानिसहरू ‘फेरि भूकम्प आयो भने...’ भनेर डराएका थिए । साच्चै भूकम्प सम्झिँदा त डर लाग्ने रहेछ । २०७२ सालमा पनि कतिपय मानिस धरहरामा चढेका थिए र भूकम्पका कारण धरहरा भत्किँदा उनीहरूले ज्यान गुमाए ।

धरहरामा जान अनलाइनबाट पहिले नै मिति र समय तोकेर टिकट लिनुपर्ने रहेछ । धरहरा परिसरमा भिडभाड कम गर्ने व्यवस्था गरिएको छ । त्यसैले होला धरहरा परिसर सफा र शान्त देखिन्छ । विभिन्न कला कृतिले सजाएको हुँदा बस्न पनि रमाइलो छ धरहरा अनि यसको परिसर ।   

   मुना