• २४ जेठ २०८२, शनिबार

सात वर्षदेखि अलपत्र पुलको काम सुरु

blog

सात वर्ष देखि अलपत्र अवस्थामा रहेको नवलपरासी पूर्वकाे केरुङ्गे खोला पुल । तस्बिर गाेरखापत्र

ज्ञानु पंगेनी 

मध्यविन्दु , जेठ २२ गते । सात वर्ष देखि अलपत्र अवस्थामा रहेको नवलपरासी पूर्व (नवलपुरको) केरुङ्गे खोला पुलको काम सुरु भएको छ । काम छाडेर सम्पर्क विहीन बनेको निर्माण व्यवसायीलाई ताकेता गरेपछि अहिले सम्पर्कमा आएर काम सुरु गरेको हो ।

पुलको अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी रहेको १५ प्रतिशत काम यही असार मसान्तसम्म सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीलाई निर्देशन दिइएको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायण प्रसाद लामिछानेले जानकारी दिनुभयो । निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार लामो समयसम्म सम्पर्क विहीन भएको थियो । अहिले भने ठेकेदार सम्पर्कमा आएको र असार मसान्तसम्म पुल निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको लामिछानेले बताउनुभएको छ । 

कावासोती नगरपालिका वडा नम्बर ३ र ४ लाई जोड्ने गरी २०७५ सालमा पुलको काम सुरु भएको थियो । तीन वर्षभित्र काम सक्ने गरी सम्झौता भएको पुलको काम सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।

झन्डै १ सय ४० मिटर लम्बाइको पुल साढे १० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो ।

२०७५ सालमा सुरु गरेर २०७७ साल असारसम्म पुल निर्माणको काम सक्ने गरी ठेक्का सकारेको कम्पनीको ठेकेदार विभिन्न बहाना बनाएर सम्पर्क विहीन हुँदा पुल अलपत्र परेको थियो ।

पटक पटक म्याद थप गरेर काम अगाडि बढाए पनि केही दिन निर्माण स्थलमा कामदारहरू पठाउने र केही दिनमै आफू सम्पर्क विहीन बनिदिने परिपाटीले स्थानीयले सास्ती भोग्दै आएको कावासोती ४ का अध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो । यहाँ पुल निर्माण नहुँदा वर्षाको समयमा विद्यालय आउजाउ गर्ने विद्यार्थी , हुप्सेकोट र कावासोती चारका व्यावसायिक किसानलाई सबैभन्दा बढी समस्या हुने गरेको अध्यक्ष लोहनीले बताउनुभयो ।  

नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले अलपत्र पुलको बारेमा जानकारी पाएपछि सडक डिभिजनका प्रतिनिधि , वडा र पालिकाका प्रमुख समेतलाई  जिल्ला प्रशासन कार्यालयमै डाकेर ठेकेदारलाई सम्पर्क गरी छिटो काम सम्पन्न गर्न निर्देशन दिएको बताउनुभयो । जिल्ला प्रशासनको निर्देशन पश्चात् ठेकेदार कम्पनीले काम सुरु गरेको उहाँको भनाइ छ । 

निर्माण व्यवसायी कमल भट्टले यही असार मसान्त सम्म सबै काम सक्ने गरी काम  सुरु गरिएको बताउनुभएको छ । यदि कुनै कारणवश सबै काम पुरा हुन नसके पनि पुल आसपासको बाटो सम्म्याएर सवारी गुडाउन मिल्ने बनाउने उहाँले बताउनुभयो । 

पुलको छेउमा बार लगाउने र पुलमा बनेका खाल्डो सम्म्याएर रङ रोगन गर्ने कार्य पनि बाँकी रहेको छ ।