लक्ष्यबिना मानिसको जीवन अधुरो हुन्छ । प्रत्येक मानिसले आफ्नो जीवनको लक्ष्य पूरा गर्नका लागि विभिन्न योजना बनाएका हुन्छन् । विद्यार्थी जीवन भनेको यस्तो अवस्था हो जुन अवस्थाका विद्यार्थीले अनेकौँ सपना बुनेका हुन्छन् र ती सपना पूरा गर्नका लागि विभिन्न योजना बनाई अघि बढेका हुन्छन् ।
गत २०८१ सालको सुरुवातमा कक्षा ८ को पढाइ निकै गाह्रो हुन्छ भन्ने सुनेको थिएँ । त्यसैले मनमा डर पनि थियो । वर्ष बित्दै जाँदा गुरु र गुरुआमाको परामर्श तथा मार्गदर्शनका कारण मेरो मनमा उत्पन्न सबै डर हराउँदै गयो । त्यस वर्ष मैले पढाइका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा आफ्नो सहभागिता जनाएँ ।
अब म माध्यमिक तहमा उक्लिएको छु । त्यसको तयारी गर्न अहिलेदेखि गर्नुपर्ने हुन्छ । बलियो जग बनाउन प्रयत्न गर्नु पर्दछ । त्यही बलियो जग निर्माण र मेरो लक्ष्यलाई सहयोग गर्ने गरी गत वर्ष केही योजना बनाएको थिएँ । मेरा योजना केही पूरा भए भने केही पूरा भएनन् ।
सुरुदेखि नै म एक लगनशील र मेहनती विद्यार्थी हुँ । मेरो मेहनत हरेक नतिजामा देखिन्छ । तैपनि मेरो पढाइमा एउटा खोट छ । त्यो के भने मेरो हस्तलेखन त्यति राम्रो छैन । त्यस कारण मैले गत वर्ष हस्तलेखन सुधार्ने योजना बनाएँ । ढुङ्गा खोज्दा देवता भेटिए जस्तै मेरो विद्यालयमा विद्यालय सञ्चालन भएको पहिलो हप्तामा हस्तलेखन अभ्यास भन्ने कार्यक्रम सञ्चालन भयो । मैले त्यस अभ्यासबाट धेरै कुरा सिकेँ । पहिले पहिले हस्तलेखनका कारण मेरा गुरुहरू मसँग खुसी हुनुहुन्थेन तर हस्तलेखनमा सुधार आएपछि मेरो पढाइमा रहेको एउटा खोट सुध्रिएको छ ।
विद्यालयको पाठ्यपुस्तकका साथै सामान्य ज्ञानप्रति पनि रुचि छ । मैले गत वर्ष नयाँ ज्ञानका कुरा सिक्ने योजना बनाएको थिएँ । मैले विभिन्न किताब, मोबाइल फोन, पत्रपत्रिकामार्फत विविध सामान्यज्ञानका कुरा जान्न र सिक्न पाएँ । मेरो विद्यालयमा हरेक दिन प्रार्थना सभामा सामान्यज्ञानका प्रश्न सोधिने गरिन्छ । म ती हरेक प्रश्नका उत्तर दिन सधैँ अगाडि सर्ने गरेको छु । विद्यालयमा आयोजित सामान्यज्ञानका प्रतियोगितामा सक्रिय सहभागी जनाएको छु । विद्यालयभित्र मात्र नभई आफ्नो विद्यालयको प्रतिनिधित्व गर्दै अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा म आफैँ अगाडि सर्ने गरेको छु । मेरो प्रतिभा गुरुमाझ प्रशंसनीय बनेको छ । मेरो यस प्रतिभालाई थप राम्रो बनाउन विद्यालयको पुस्तकालयमा गएर सामान्य ज्ञानका किताब पढ्न रुचाउँछु ।
मैले गत वर्ष मेहनत गरेर पढ्ने योजना पनि बनाएको थिएँ । विद्यार्थी भएको नाताले विद्यार्थी जीवनको हरेक चरणमा मेहनत गर्नु पर्छ । कक्षामा निकै मेहनत गर्नु पर्छ किनभने परीक्षामा उत्तीर्ण हुन सक्दा मात्रै माथिल्लो तहमा उक्लिन सकिन्छ । कक्षा ९ र एसइईमा राम्रो नतिजा ल्याउनका लागि अहिलेदेखि नै लगनशील भएर पढ्ने विचार गरेको छु । मैले गत वर्ष विभिन्न साहित्यका किताब पढ्न खोजी गरेँ । विद्यालयको पुस्तकालयबाट विद्यालयमा पठनपाठन हुने बाहेक अन्य प्रकाशनद्वारा प्रकाशित पाठ्यपुस्तक पनि पढेँ । यसरी पढ्दा कुनै विषयमा थप जानकारी हासिल गर्न सकिन्छ । विद्यालयले हामीलाई विद्यार्थीका रचना समावेश भएको मुना बालपत्रिका हरेक महिना उपलब्ध गराउन थालेको छ । मुना पत्रिका पाउँदा म निकै खुसी हुन्छु । मुना पत्रिकामा समावेश गरिएका रचना पढेर म प्रभावित हुन्छु । यस पत्रिकाको हरेक पाना नछुटाइकन पढ्ने गर्दछु । यसको अध्ययनले मेरो पठन संस्कार र अध्ययनमा थप हौसला मिलेको छ ।
मैले शैक्षिक सत्रको सुरुवातमा बनाएका योजना सबै पूरा भएनन् । पढाइबाहेक मैले बनाएको एउटा योजना भनेको शारीरिक व्यायाम हो । शरीर स्वस्थ, धैर्य र संयम रहन्छ भन्ने उद्देश्यले मैले यो योजना बनाएको थिएँ । सुरुका केही महिना मैले शारीरिक व्यायाम गरेको थिएँ । विद्यालयले कक्षा ८ का विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन ग¥यो । पढाइलाई प्राथमिकता दिनु परेकाले मैले शारीरिक व्यायामलाई निरन्तरता दिन सकिन ।
बाल्यकालदेखि नै मलाई कलामा रुचि थियो । बिचका केही वर्षमा मैले कलालाई निरन्तरता दिन सकेको थिएन । २०८१ सालमा कलामा निखार ल्याउने योजना बनाएको थिएँ तर अतिरिक्त कक्षामा सहभागी हुनुपर्ने हुँदा कलामा समय दिन सकिएन । समय व्यवस्थापनको महìव बुझेँ । त्यसैले पढाइलाई प्राथमिकतामा राखेँ ।
गत वर्षका केही योजना पूरा हुन नसक्दा पछुतो पनि लागेको छ । अब यस वर्षका लागि योजना बनाएको पनि छु । कलाको विकास र शारीरिक व्यायाम गर्ने, नयाँ नयाँ ठाउँ घुमेर तिनको अध्ययन गरी नयाँ नयाँ ज्ञान हासिल गर्ने योजना पनि बनाएको छु ।
धेरै नेपाली युवा रोजगारी र शिक्षाका लागि विदेश पलायन भएका छन् । यो भनेको बौद्धिक पलायन हुनु हो । मेरो लक्ष्य राज्यको उच्चस्तरीय पदमा बसेर देशको सेवा गर्ने हो । त्यसका लागि म पहिला लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी अधिकृतमा नाम निकाल्न चाहन्छु । सामान्य ज्ञानको अध्ययन, राम्रो हस्तलेखन, मेहनत गरी पढ्ने भावना जस्ता कुरा आवश्यक पर्दछ । त्यसैले अहिलेदेखि नै सामान्यज्ञानसम्बन्धी जानकारी हासिल गर्ने प्रयास जारी राख्ने छु । हरेक मानिसले जीवनमा अगाडि बढ्न र लक्ष्य प्राप्त गर्न योजना बनाउनु पर्छ । ती योजना बनाउनका लागि बनाउने होइन, पूरा गर्नका लागि बनाउनु पर्छ ।