• २३ जेठ २०८२, शुक्रबार

छात्रवृत्तिको चाहना

blog

हरेक वर्ष एउटा कक्षाबाट अर्को कक्षामा जाँदा नयाँ नयाँ योजना बुनिँदो रहेछ । कक्षा ८ मा प्रवेश गर्दा मैले धेरै योजना बनाएकी थिएँ । गत वर्ष मैले गरेका कामको स्मरण गर्न चाहन्छु । गत वर्ष हाम्रो विद्यालयमा थुप्रै कार्यक्रम भए । अहिलेसम्म परम्परागत संस्कृति, टिपिओ नामक संस्थाबाट उपलब्ध गराइएको पारिवारिक सन्देशमूलक कार्यक्रम, खेलकुद कार्यक्रम, भ्रमण, हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, वादविवाद प्रतियोगिता, विद्यालयको वातावरण सरसफाइ, वित्तीय साक्षरता कार्यक्रम, विज्ञान प्रविधिको नमुना प्रदर्शनी जस्ता थुप्रै कार्यक्रम भए । मैले सबैमा सहभागिता जनाएकी थिएँ । एउटा कार्यक्रममा हाम्रो विद्यालयले द्वितीय स्थान हासिल गरेर एक लाख रुपियाँको पुरस्कार पनि प्राप्त गर्न सफल भयो । 

विद्यालयमा शिक्षकहरूले परियोजना कार्य दिइरहनु हुन्छ । मलाई पढाइमा राम्रो गर्न प्रेरणा दिनुहुन्छ । म हरेक विषयमा अब्बल हुन प्रयास गरिरहेकी छु । यस प्रयासलाई अगाडि बढाउन म हरेक क्रियाकलाप गरी शिक्षकलाई बुझाउँछु । अनि नबुझेका कुरा शिक्षकसँग सोध्ने गर्छु । विद्यालयमा समय समयमा एकाइ तथा मासिक परीक्षा हुने गर्दछ । सुरुका महिनामा ती परीक्षाका लागि तयारी गर्दा कहिले राम्रो नतिजा आउँथ्यो र कहिले कमजोर नतिजा आउँथ्यो । कमजोर नतिजा आउँदा मेरो पढाइमा मेहनत पुगेको छैन भन्ने अनुभव गर्थें र राम्रो नतिजाको सपना देख्दै मेहनत गर्न थाल्थेँ । 

प्रथम त्रैमासिक परीक्षाको नतिजा आउँदा म थोरै डराएकी थिएँ, म तृतीय हुन सफल भएछु । मलाई नराम्रो लाग्यो । म जस्तै विद्यार्थी प्रथम हुँदा म किन हुन सकिन भन्ने कुरा मेरो मनमा उठ्दै थियो । मैले प्रथम त्रैमासिक परीक्षामा नभए पनि दोस्रो त्रैमासिक परीक्षामा अझ राम्रो गर्छु भन्ने सोचेर लक्ष्य निर्धारण गरेँ । पढाइमा अझ धेरै ध्यान दिन थालेँ । पढाइमा कहिलेकाहीँ रुचि नलाग्दा आफ्नो लक्ष्य सम्झेर अडिग रहँदै अगाडि बढिरहेँ । पढाइ नराम्रो भयो भने किन नराम्रो भयो भनेर खोजी गर्न थालेँ । 

त्यसपछिका एकाइ तथा मासिक परीक्षामा मैले राम्रो गर्दै गएँ । दोस्रो त्रैमासिक परीक्षामा मैले लिएको लक्ष्यमा पुग्न सफल भएँ । बुवाआमा पनि खुसी हुनुभयो र हौसला दिइरहनुभयो । अभिभावकको प्रेरणाबाट म प्रभावित भएकी छु । गणित विषय अलि गाह्रो लाग्छ । दाइ, दिदी र शिक्षकसँग सोधेर गणित विषयमा राम्रो गर्दै गएकी छु तर गत सालको भन्दा बुझ्न र हिसाब गर्न सक्ने भएकी छु । 

यस वर्ष पढाइमा अब्बल बन्दै जाने प्रयास गर्ने छु । हरेक विषयमा राम्रो अङ्क ल्याउने चाहना छ । यो वर्ष मैले जे जति सिकेँ, त्यसबाट शिक्षा लिँदै मभित्र रहेका कमीकमजोरीलाई सुधार्दै जाने छु । पढाइमा राम्रो गरी छात्रवृत्ति प्राप्त गर्ने मेरो चाहना छ । नयाँ कुरा सिक्न र व्यवहारमा उतार्न चाहन्छु । धेरै कार्यक्रममा सहभागी हुने गरेकी छु । यस वर्ष पनि म धेरै कार्यक्रममा सहभागी हुने छु । त्यहाँ सिकेका सन्देशमूलक कुरा साथीलाई पनि सिकाउने छु । मेरो मात्र पढाइ राम्रो भएर हुँदैन । विद्यालयमा सबै जनाको पढाइ राम्रो भयो भने मात्र शिक्षकले हामीलाई सिकाउँदा गर्नुभएको मेहनतको कदर हुन्छ र विद्यालयको पनि इज्जत रहन्छ । 

यस वर्ष पढाइमा मात्र नभएर तामाङ समुदायको वाद्य बाजा टुङ्ना सिक्ने योजना छ मेरो । तामाङ समुदायले आयोजना गर्ने ल्होसारलगायतका कार्यक्रममा सक्रिय रूपमा सहभागी हुने छु । यस वर्ष पनि परीक्षामा मेहनेत गरेर राम्रो गर्ने छु । लक्ष्यमा अवश्य पुग्ने छु भन्ने मेरो विश्वास छ । 

     मुना