• २३ जेठ २०८२, शुक्रबार

लक्ष्य ‘ए प्लस’ को

blog

भर्खरै हामीबाट बिदा भएको २०८१ सालको शैक्षिक उपलब्धिसम्बन्धी समीक्षा गर्न मन लागेको छ । मैले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जिपिए ४.० ल्याएर तेमाल गाउँपालिकामा नयाँ इतिहास रच्ने लक्ष्य राखेको थिएँ । काठमाडौँका सुविधासम्पन्न विद्यालयमा पूर्ण छात्रवृत्तिमा पढ्ने योजना बनाएको थिएँ । सबै विषयमा मैले मेहनत गरेबमोजिम नै ग्रेड प्राप्त गर्न सफल भएँ तर विज्ञान विषयमा जिपिए २.४ अर्थात् ‘बी’ ग्रेड मात्र प्राप्त हुँदा लक्ष्यमा पुग्न सकिन । पूर्ण छात्रवृत्ति प्राप्त गरी काठमाडौँका नाम चलेका विद्यालयमा अध्ययन गर्ने धोको पनि पूरा हुन सकेन ।

विद्यार्थी जीवनमा साथीको सङ्गतले ठुलो प्रभाव पार्ने रहेछ । म कुनै समयमा खराब साथीहरूको लहैलहैमा लागेर झन्डै झन्डै कुबाटोतिर लागेको थिएँ तर गुरुबा र गुरुआमाको प्रेरणा तथा हौसलाले मैले सुझबुझ पूर्ण ढङ्गले आफूलाई संयमित बनाएँ । कक्षा १० मा मेरा मिल्ने साथी साजन तामाङ थिए ।  उनको नेपाली र अङ्ग्रेजी दुवै विषयको हस्तलेखन राम्रो र आकर्षक थियो । मेरो लेखाइ त्यति राम्रो थिएन । मलाई साथीले राम्रो अक्षर बनाएर लेख्न हौसला दिए र आकर्षक ढङ्गले लेख्ने तरिका पनि सिकाए । 

सबैभन्दा सुखद कुरा त २०८१ सालको एसइईमा जिपिए ३.६० प्राप्त गर्दा पनि तेमाल गाउँपालिकाभित्रका नौवटा माध्यमिक विद्यालयका साथीहरूलाई उछिन्दै तेमाल गाउँपालिका प्रथम हुन सफल भए । मैले पालिकाभित्र सर्वोत्कृष्ट ग्रेड प्राप्त गरेका कारण विद्यालयले सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्‍यो । यो मेरो जीवनको ठुलो सफलता थियो ।

अहिले म काभ्रेको जनक माविमा विज्ञान विषय लिएर कक्षा ११ मा अध्ययन गरिरहेको छु । विद्यालयको छात्रावासमा बसेर कडा अनुशासन पालना गरेर अध्ययन गर्दा केही समय असहज भए पनि अहिले छात्रावासको बसाइ रमाइलो लाग्न थालेको छ । विगतमा भएका कमजोरीलाई सुधार गर्दै लगनशील भएर अध्ययन गरिरहेको छु । विद्यालयले आयोजना गरेको अङ्गे्रजी निबन्ध लेखन प्रतियोगितामा प्रथम हुन सफल भएको छु । साथै भर्खरै सम्पन्न भएको प्रथम त्रैमासिक परीक्षामा जिपिए ३.४९ प्राप्त गरी विज्ञान समूहमा प्रथम स्थान हासिल गर्न सफल भएको छु । 

जिपिए वृद्धि गर्न घोकेर होइन बुझेर पढ्ने बानीको विकास गरेको छु । तुलनात्मक रूपमा गाह्रो लाग्ने भौतिक शास्त्र र रसायन शास्त्र विषयलाई गहन रूपले अध्ययन गर्ने गरेको छु । टाइम टेबल बनाएर नियमित रूपले सबै विषयलाई उत्तिकै प्राथमिकता दिएर पढी ‘ए प्लस’ ल्याउने लक्ष्य राखेको छु । भविष्यमा इन्जिनियर बन्ने योजना बनाएको छु । इन्जिनियर भएपछि आर्थिक समस्या भएकालाई निःशुल्क सेवा प्रदान गर्ने छु र सम्पत्ति कमाउन विदेश जाने छैन । देशकै सेवा गरेर बस्ने छु । त्यसका लागि २०८२ सालमा कक्षा १२ को परीक्षा निकै मेहनत र लगनका साथ तयारी गर्ने छु । 


    मुना