• २३ जेठ २०८२, शुक्रबार

योजना केही अधुरा, केही पूरा

blog

मानिस निश्चित उद्देश्य लिएर जन्मिएको हुन्छ । उद्देश्य र लक्ष्य नभएको मानिस सफल हुँदैन । हामीले हाम्रो लक्ष्यमा पुग्न आफूले निर्धारण गरेका योजनालाई पूरा गर्न सक्नु पर्छ । मैले २०८१ सालमा केही योजना बनाएर अगाडि बढेको थिएँ । योजना बनाएर काम गर्दा निकै सजिलो हुने रहेछ । २०८१ सालमा मेरा केही योजना र लक्ष्य रहेका थिए जुन केही पूरा भयो भने केही अधुरा रहे । गएको वर्ष र आगामी वर्षका योजनाका बारेमा चर्चा गर्न चाहन्छु ।

१. सबै विषयमा उत्कृष्ट अङ्क ल्याउने

सबै विषयमा उत्कृष्ट अङ्क ल्याउने मैले बिएलई टेन सेटको प्रयास गरेँ । हरेक बिहानी अतिरिक्त कक्षा जाने गरेको थिएँ । मैले सोचेको जस्तो सफलता पनि पाएँ । मैले कुनै पनि विषयलाई सजिलो भनेर अपमान गरिन । सबै विषयको महत्व बराबर छ भन्ने शिक्षकहरूको सल्लाह मानेर बराबरी तयारी गरेँ । अब म कक्षा ९ मा पुगेको छु र यस वर्ष सर्वोत्कृष्ट अङ्क ल्याउने प्रयास गर्ने छु ।

२. नयाँ सिप सिक्ने र अनुशासित बन्ने

मैले गत वर्ष चित्रकला सिकेँ । यसले मेरो सिर्जना गर्ने शक्ति वृद्धि भयो । अनुशासित बन्न मैले योग गरेँ । नयाँ सिप र अनुशासित भएपछि मेरो आत्मविश्वास वृद्धि भयो । हामीले जीवनमा सिक्न छोड्नु हुँदैन भन्ने कुरा २०८१ सालले मलाई सिकायो । यस वर्ष पनि यसलाई निरन्तरता दिने छु ।

३. अतिरिक्त क्रियाकलापमा पदक पाउने

मैले भलिबल खेलमा सहभागी भएर विद्यालयमा दोस्रो पदक जितेँ । साथै विद्यालयले आयोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुने अवसर पनि प्राप्त गरेँ । पढाइका अतिरिक्त यस्ता क्रियाकलापमा सहभागी हुन पाउँदा ममा नयाँ जोश र जाँगर बढ्यो भने मेरो क्षमता पनि बढेको पाएँ । यस वर्ष पनि अतिरिक्त क्रियाकलापमा प्रथम हुने योजना अहिलेदेखि बनाइसकेको छु ।

४. नयाँ ठाउँ घुम्ने

मलाई नयाँ ठाउँ घुम्ने र त्यस ठाउँका बारेमा जान्न राम्रो लाग्छ । मेरो विद्यालयमा माघमा वनभोज कार्यक्रम आयोजना भएको थियो । त्यस कार्यक्रममा हामी नमोबुद्ध गयौँ । मलाई घुम्न पाउँदा निकै आनन्द लाग्छ । त्यहाँका मानिस कसरी बाँचेका छन्, के खाँदा रहेछन् भन्ने जानकारी प्राप्त हुँदो रहेछ । यो २०८२ सालमा पनि नयाँ ठाउँ गएर त्यहाँका बारेमा जानकारी हासिल गर्ने योजना बनाएको छु ।

५. कपडा किन्ने

कपडा एउटा मानिसका लागि धेरै आवश्यक र महत्वपूर्ण हुन्छ र नयाँ कपडा पाउँदा जो पनि खुसी हुन्छ । त्यसैले मेरो अभिभावकले मलाई दसैँमा कपडा किनिदिनुभएको थियो । नयाँ कपडा लगाएर घुम्न जान पाउँदा म निकै उत्साहित र खुसी भएको थिएँ । ममा एउटा नयाँ जोश जाँगर आएको थियो । पक्कै पनि यो वर्षको दसैँमा फेरि नयाँ लुगा किन्न पाइने छ ।

६. मोबाइल फोन किने

मोबाइल फोनको सदुपयोग गर्न सक्दा त्यसले खराब गर्दैन । पढाइ र सिकाइबाहेकमा मोबाइल फोनको प्रयोग गर्न लाग्यौँ भने हामी पक्कै पनि बिग्रने छौँ । त्यो छुटाउन नसकिने खराब लत हुने छ । अभिभावकसँग सल्लाह गरी मोबाइल फोन किने । त्यसबाट धेरै सूचना र ज्ञान प्राप्त गर्न सफल भएँ । गेम खेल्ने वा सामाजिक सञ्जाल हेर्ने काममा मोबाइल फोनको प्रयोग गरिेन । आशा गर्दछु साथीहरूको पनि गएको साल सुखद भएको होला ।  

  मुना