जनार्जन खत्री
सर्लाही, जेठ २२ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहटको सीमामा पर्ने बागमती पुलमा बुधबार राति कन्टेनर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सर्लाहीतर्फको भागमा बागमती नगरपालिका–११, मा भएको दुर्घटनामा मोटरसाइकल चालक बागमती पुलपारी रौतहटको चन्द्रपुर नगरपालिका–१, पौराहीका २१ वर्षीय गोपाल योन्जनको मृत्यु भएको हो । योन्जनलाई बुधबार राति ९ बजेतिर सर्लाहीको कर्मैयाबाट प्रदेश ३–०२–०१४ प ९८७७ नम्बरको मोटरसाइकलले घरतर्फ फर्कदै गर्दा बागमती पुलमा पूर्वतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ ख ००७० नम्बरको कन्टेनरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले बताउनुभयो ।
राति बागमती पुलमा दुर्घटना भएको जानकारी पाएपछि नजिकै रहेको इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले गम्भीर अवस्थामा रहेका मोटरसाइकल चालकलाई उद्धार गरी उपचारका लागि मोडेल अस्पताल बागमती ल्याएको थियो । मोटरसाइकल चालक योन्जनलाई यहाँ सामान्य उपचारपश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो ।
मोटरसाइकललाई ठक्कर दिने कन्टेनर र त्यसका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–५, का ३८ वर्षीय ओमबहादुर लो लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाहीमा केही दिनदेखि श्रृङ्खलावद्धरुपमा भइरहेका सवारी दुर्घटनामा मानिसको मृत्यु भइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार जेठ ५ गतेदेखि बुधबार रातिसम्मको अवधिमा जिल्लाभर भएका बेग्लाबेग्लै दुर्घटनामा १० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुने धेरैजसो मोटरसाइकल चालक रहेका छन् ।
तीव्र गति, लापरवाही, सडकको खराब अवस्था र मदिरा सेवन गरेर सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढेको सर्लाहीका ट्राफिक प्रहरी निरीक्षक रजोस घिमिरेले जानकारी दिनुभयो । बढ्दो सडक दुर्घटना न्यूनिकरण गर्ने भन्दै ट्राफिक प्रहरीले आज (बिहीबार) बिहान सदरमुकाम मलङ्गवामा औपचारिक कार्यक्रम गरेर ट्राफिक सचेतना सप्ताह सुरु गरेको छ ।