• २३ जेठ २०८२, शुक्रबार

नयाँ वर्षमा नयाँ कक्षा

blog

साथीहरू, को–को कति कक्षामा पुग्नुभयो ? अनि क –कसको परीक्षाफल राम्रो भयो र क–कसले अलि अलि बिगार्नुभयो ? बिगार्नु हुने साथीहरूलाई अबको कक्षामा राम्रो गर्न शुभकामना र राम्रो गर्नेहरूलाई बधाई । मेरो पनि राम्रै भयो । म पनि कक्षा ५ मा पुगेँ । भर्खर नयाँ वर्ष २०८२ साल पनि लाग्यो । नयाँ सालसँगै नयाँ कक्षा, केही नयाँ साथी, शिक्षकशिक्षिका, नयाँ किताब । वाउ ! कत्तिको त नयाँ विद्यालय पनि । तपाईंलाई कस्तो लागिरहेको छ, धेरै कुरा नयाँ हुँदा ? 

नयाँ वातावरणमा मलाई त रमाइलो लागिरहेको छ । हामी सबै विद्यालयमा एक खुड्किलो उक्लियौँ तर किताबहरू हेर्दा त ओहो ! कस्तो गाह्रो छ जस्तो लागिरहेको छ मलाई त । कहिले पढिसक्ने होला ? कसरी पढ्ने होला भन्ने पनि लाग्छ । तपाईंलाई पनि त्यस्तै लाग्दो हो । हो, हामी भर्खर त नयाँ कक्षामा पुगेका छौँ । एक वर्ष पढ्न बाँकी छ । बिस्तारै बिस्तारै पढिसकिएला । पढ्नुपर्ने अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र स्वास्थ्य तथा शारीरिक विषय छन् । किताब पल्टाएर हेर्दा धेरै कुरा नयाँ देखिन्छन् । मैले युट्युबमा केही किताबको पाठ खोज्दा पढाइएका धेरै भिडियो पनि भेटेँ । अनलाइन कक्षाका भिडियो धेरै रहेछन् युट्युबमा । 

मनमा कस्तो कस्तो लागिरहेको छ । मलाई लाग्छ अब हाम्रो गृहकार्य पनि धेरै हुने छ । पढ्न र लेख्नुपर्ने पनि धेरै । केही छैन, तपाईं हाम्रो कामै पढ्ने, लेख्ने, खेल्ने नै हो । साथीसँग घुलमिल भएर पढ्ने हो । नआएको र नजानेको कुरा शिक्षकशिक्षिकालाई सोध्ने हो । घरमा बुवाआमा वा आफूभन्दा जान्ने कोही हुनुहुन्छ भने उहाँहरूबाट पनि सिक्न सकिन्छ तर मलाई पढ्न लेख्न मात्र होइन नयाँ नयाँ ठाउँमा घुमफिर, साथीहरूसँग खेल्न, कथाहरू पढ्न अनि जानेका कुरामा अझ सोधेर लेख्न मन पर्छ । त्यसैले म बाबा र ममी, दिदीको सहयोगमा मुना मासिक पत्रिकालगायत अनलाइनमा पनि बिदाको दिन कुनै विषयमा लेखेर पठाउँछु । कहिले छापिन्छ तर लेख्न चाहिँ लेखी नै रहन्छु । त्यसैले लेखपढबाहेक फुर्सदको समयलाई केही न केही गरेर हामीले सदुपयोग गर्न सक्दछौँ । साथीहरूले पनि नयाँ साल नयाँ कक्षामा धेरै कुरा सिक्नुहुने छ भन्ने मलाई लागिरहेको छ । 

  मुना