तिलाचन पाण्डे
तम्घास(गुल्मी), जेठ २० गते । गुल्मीमा गणित, अङ्ग्रेजी र विज्ञानका शिक्षक पाउनै मुस्किल भएको छ । धुर्कोट गाउँपालिकाले ज्ञानोदय माध्यमिक विद्यालयमा गणित शिक्षक सङ्घीय अनुदानका लागि चौथो पटक विज्ञापन गर्दा पनि शिक्षक पाउनै मुस्किल भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले माध्यमिक तह (नौ, दस) को गणित शिक्षकका लागि चौथो पटक विज्ञापन गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिनुभयो । चौथो पटक गरिएको विज्ञापनमा अन्तिम दिन जेठ २० गतेसम्म पनि कसैको आवेदन नपरेको उहाँको भनाइ छ ।
प्राथमिक तहको शिक्षकका लागि पनि दोस्रो पटक विज्ञापन गरिएको पन्थीले बताउनुभयो । सहरमा सबैको रुचि हुने र गाउँमा शिक्षक आउन नमान्ने भएका कारण पनि थप समस्या आउने गरेको पन्थीले गुनासो गर्नुभयो ।
मुसिकोटले छैटौँ पटकमा पायो शिक्षक
केही महिना पहिले जिल्लाको मुसिकोट नगरपालिकाको मुसिकोट माध्यमिक विद्यालय र जनज्योती माध्यमिक विद्यालयका लागि माध्यमिक तहमा गणित शिक्षकका लागि छैटौँ पटक विज्ञापन गर्दा मुस्किलले शिक्षक पाएको थियो । यस्तै, शिवशङकर माध्यमिक विद्यालयका लागि अङ्ग्रेजी शिक्षकका लागि पनि छैटौँ पटकमा शिक्षक पाएकोे नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिनुभयो ।
यस्तै, सोही नगरपालिकाको ददल्का माध्यमिक विद्यालयका लागि पनि गणित शिक्षकका लागि तेस्रो पटक ,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सीतापुर माध्यमिक विद्यालयका लागि माध्यमिक विज्ञान राहतमा मुस्किलले शिक्षक पाएको उहाँले बताउनुभयो ।
नेपालको शिक्षण पेसामा भविष्य नदेखेका कारण वैदेशिक यात्रामा जानु र शिक्षण पेसामा सम्मान नहुनुका साथै निजामति सेवा सरह राज्यले हेर्ने दृष्टिकोण नहुँनु पनि अर्को समस्या रहेको नेपालीले बताउनुभयो । लाइसेन्स नभएकालाई शिक्षामा प्रवेशमै रोक लगाइनु र लाइसेन्स भएका व्यक्ति नपाइने गर्दा राज्यको नीतिमै समस्या रहेको उहाँको भनाइ छ ।
पछिल्लो समयमा अध्यापनमा रुचि नदेखाउनु र वैदेशिक रोजगारीमा सबैको मोह बढ्नुका कारण पनि शिक्षकको अभाव हुने गरेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएको छ ।
एकाइ प्रमुख थानेस्वर घिमिरेका अनुसार कतिपय शिक्षकहरू बिचैमा जागिर छाड्ने र अवकास लिने जस्ता कारणले पनि शिक्षक अभाव देखिएको बताउनुभयोे । जिल्लामा गणित, अङ्ग्रेजी र विज्ञानका शिक्षक अभाव रहेको उहाँले स्वीकार गर्नुभयो । यो समस्या गुल्मीको मात्रै नभई देशभर देखा पर्ने गरेको उहाँको भनाइ छ ।
गुल्मीमा सामुदायिक र संस्थागत गरी ५९० विद्यालय र ५६ हजार २०३ विद्यार्थी सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएको छ । जिल्लामा बालशिक्षादेखी कक्षा १२ सम्मका विद्यालयमा राहत र दरबन्दी गरी तीन हजार १५३ जनाको दरबन्दी रहेको कार्यालयले जनाएको छ ।