• २२ जेठ २०८२, बिहिबार

सुरक्षित आवास निर्माण गरिँदै

blog

अव्यवस्थित बसोबासीका लागि सुरक्षित आवास निर्माण गरिँदै । तस्बिर : विजयकुमार साह

ढल्केबर समाचारदाता

ढल्केबर, जेठ २० गते  । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा अव्यवस्थित २० घरपरिवारका लागि सुरक्षित आवास निर्माण सुरु भएको छ । गणेशमान चारनाथ नगरपालिका र  ह्याबिट्याट फर नेपालको सहयोगमा सामुदायिक सुधार केन्द्र धनुषाले अव्यवस्थित घरपरिवारका लागि सुरक्षित आवास निर्माण सुरु गरेको हो । 

सामुदायिक सुधार केन्द्र धनुषाका अध्यक्ष सञ्जयकुमार साहले नगरपालिकाको वडा नं. ७, सन्तपुरमा १४ र वडा नं. ३, भरतपुरमा छ वटा सुरक्षित आवास निर्माण सुरु गरिएको बताउनुभयो । अव्यवस्थित बसोबासीका लागि जग्गासहितको आवास निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार आवास निर्माण गर्न करिब एक करोड १६ लाख रुपियाँ खर्च हुन्छ । जसमध्ये ७३ लाख रुपियाँ नगरपालिका, ३५ लाख रुपियाँ ह्याबिट्याट र सामुदायिक सुधार केन्द्र र १० प्रतिशत घर प्राप्त गर्ने घरपरिवारले श्रमदान गर्नुपर्ने छ । एउटा घर निर्माण गर्न करिब पाँच लाख ८० हजार रुपियाँ खर्च हुने अध्यक्ष साहले बताउनुभयो ।  

प्रत्येक परिवारका लागि दुई वटा कोठा, भान्सा र शौचालय निर्माण गरिने छ । जस्ताको छाना, बाँसको टाटीमा दुवैपट्टिबाट तारजाली राखेर घर प्लास्टर गरिने अध्यक्ष साहको भनाइ छ । अध्यक्ष साहले प्रकृतिमैत्री, भूकम्पको कम जोखिम र कम लागतमा घर निर्माण हुने भएकाले बाँसको अधिक प्रयोग गरिने बताउनुभयो । धुरीखाँबो, बेरा र छानामा समेत बाँसकै प्रयोग गरिने बताउँदै उहाँले प्रशोधित बाँसको प्रयोगले निर्माण हुने घरको आयु ४० वर्ष हुने जानकारी दिनुभयो । 

गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख जितनारायण यादवले अव्यवस्थित बसोबासीका लागि जग्गा व्यवस्थासहित घर बनाइदिन लागेको बताउनुभयो । उहाँले शौचालय, खानेपानी, बिजुली बत्तीसहित पक्की घर निर्माण गरी एकीकृत नमुना बस्ती बनाउन लागिएको बताउँदै नागरिकको सुरक्षित आवासका लागि नगरपालिकाले यो योजना अगाडि बढाएको जानकारी दिनुभयो । 

नगरप्रमुख यादवले घर निर्माणपछि एक घरपरिवारलाई १० धुर जग्गाको लालपुर्जासमेत बनाइदिएर प्रदान गरिने बताउनुभयो । सन्तनगर बस्तीमा बर्सौंदेखि अव्यवस्थित बसोबासी छाप्रो बनाएर बस्दै आउनुभएको छ । उनीहरू जग्गाको स्वामित्वसहित बसोबासका निम्ति घर बन्ने भएपछि खुसी देखिएका छन् ।