• २२ जेठ २०८२, बिहिबार

गणेशमान मार्गमा लगाइएको एक सातादेखिको अवरोध हट्यो

blog

चित्लाङ–चन्द्रागिरी–थानकोट सडक (गणेशमान सिंह मार्ग) । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, जेठ २० गते ।
मकवानपुरको थाहा नगरपालिका– ३, स्कुलचोकमा बसको ठक्करबाट तीन जना पैदलयात्रुको मृत्यु भएपछि मकवानपुर–काठमाडौँ जोड्ने गणेशमान मार्गमा नारायणी यातायात व्यवसायी संघअन्तर्गतका सवारी साधनको सञ्चालनमा लगाइएको रोक मङ्गलबारबाट हटेको छ ।

वडाको पीडित पक्ष, सवारीधनी, नारायणी यातायात व्यवसायी संघ, जनप्रतिनिधि र ईलाका प्रहरी कार्यालय, पालुङका प्रतिनिधिहरुको उपस्थितिमा भएको छलफलपछि गणेशमान मार्गमा सवारी साधन सञ्चालन गर्न दिने सहमतिपछि एक सातादेखिको अवरोध आजबाट हटेको हो ।

संघ, सवारी धनी र पीडित पक्षबिच आपसी सम्झौता भएकाले अब संघमार्फत चल्ने सवारीका साधन सञ्चालन गर्न दिने सहमति भएको थाहा नगरपालिका– ९ का वडाध्यक्ष राजकुमार बलामीले जानकारी दिनुभयो ।

उहाँले अब मङ्गलबार चित्लाङ–चन्द्रागिरी–थानकोट सडक (गणेशमान सिंह मार्ग) मा निर्वाध रुपमा सवारीका साधन चल्ने बताउनुभयो ।

यही जेठ १२ गते वडा नंं. ९ का कृष्ण बलामीसहित थाहा नगरपालिका १ स्थित झम्केश्वर माविका दुई शिक्षकलाई पैदल यात्रा गर्ने क्रममा स्कुलचोकमा बा ३ ख ५९९० नम्बरको बसले ठक्कर दिँदा मृत्यु भएको थियो । तीन जना बसले ठक्कर दिएर घाइते भएका थिए ।

पीडित पक्ष र संघबिच भएको छलफल जुट्न नसकेपछि जेठ जेठ १३ गतेबाट चित्लाङ–चन्द्रागिरी–थानकोट (गणेशमान सिंह मार्ग) सडक भई काठमाडौँसम्म आवतजावत गर्ने नारायणी यातायात व्यवसायी संघको मातहतमा सञ्चालन हुनेलगायत भाडाका सवारीसाधनहरु सञ्चालनमा वडा कार्यालयले रोक लगाएको थियो ।

सहमतिपछि मङ्गलबारबाट उक्त सडकखण्डमा नारायणी यातायात व्यवसायी संघको मातहतमा सञ्चालन हुनेलगायतका भाडाका सवारीसाधनहरु सञ्चालन गर्न कुनै अवरोध नगरिने वडाध्यक्ष बलामीद्वारा जारी सूचनामा उल्लेख छ ।

साथै संघले सो सडकखण्डमा अस्थायी रुट ईजाजत पत्र उपलब्ध गराइदिन आवश्यक पहल गरिदिन थाहा नगरपालिका कार्यालयमा गरेको अनुरोधमा नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा उक्त सडकखण्डको लागि अस्थायी रुट ईजाजत पत्र उपलब्ध गराईदिन पत्राचार गरेको वडाध्यक्ष बलामीले बताउनुभयो ।

स्थायी रुट पर्मिटका लागि पनि तत्कालै थाहा नगरपालिका कार्यालय र वडा कार्यालयबाट आवश्यक पहल गरिने उहाँको भनाइ छ ।