गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २० गते । नेपाल भाषाका गायक सज्जु मानन्धरले दुई दशकपछि आफ्नो पहिलो गीत ‘सबैलाई छोडेर’ को रिमेक गर्नुभएको छ । गीतमा दुई दशकअघिका कलाकार र निर्देशकलाई नै दोहर्याइएको छ ।
वरिष्ठ गीतकार दिनेश अधिकारीले सोमबार एक कार्यक्रमबिच गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभयो । २०५५ सालदेखि गायनमा सक्रिय सज्जुले आफ्नो पहिलो गीतलाई नयाँ रूप र सोचसहित पुनः निकालेको बताउनुभयो । गायक सज्जुले राम्रो गीत अझ परिष्कृत गरेर प्रस्तुत गरेको हुनाले आफूले ठुलो अपेक्षा राखेको बताउनुभयो ।
दुई दशकअघि निकालिएको रागिनि वन एल्बमको पहिलो गीतका रूपमा ‘सबैलाई छोडेर’ रहेको थियो । ओआरएस डिजिटलमा सार्वजनिक भएको गीतको प्रस्तुतकर्तामा गणेशदेवी फाउन्डेसनका अध्यक्ष स्नेह सायमी हुनुहुन्छ । पहिलो गीतमा अभिनय गर्नुभएका कलाकार विन्दे महर्जन रिमेक गरिएको गीतमा पनि दोहोरिनुभएको छ । म्युजिक भिडियोमा नायिका प्रियङ्का कार्कीको पनि अभिनय देख्न सकिन्छ । पहिलो गीतको निर्देशन गर्नुभएका कृष्ण रुपाखेती रिमेक गीतको पनि निर्देशक हुनुहुन्छ । सो गीतमा डा. राजु मानन्धरको शब्द र जुगल डङ्गोलको सङ्गीत रहेको छ ।